Khabar Out
भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ र ‘समन्वय पार्क’ बनाइने

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं. १० स्थित ऐतिहासिक गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ र ‘भरतपुर समन्वय पार्क’ निर्माण गरिने भएको छ। जिल्ला समन्वय समिति चितवनको नवौँ जिल्ला सभाले साविक जिल्ला विकास समितिको नाममा रहेको जग्गामध्ये एक बिघा १६ कट्ठा १४ धुर जग्गा सहिद मैदान र एक बिघा नौ कट्ठा जग्गा समन्वय पार्कका लागि भरतपुर महानगरपालिकालाई उपलब्ध गराउने निर्णय गरेको हो।

महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले गेस्ट हाउस चौरको पृष्ठभूमि संरक्षण गर्दै देशका लागि योगदान गरेका सहिदहरूको सम्मानमा व्यवस्थित सहिद मैदान निर्माण गर्न लागिएको बताएका छन्। उनले भनेका छन्, ‘भरतपुरको मुटुमा रहेको यस ऐतिहासिकस्थललाई विभिन्न राष्ट्रिय तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न सकिने गरी र सहिदहरूको स्मृतिका लागि सहिद मैदानका रूपमा विकास गर्न लागिएको हो। यसका लागि आवश्यक सम्पूर्ण पूर्वाधार निर्माणको काम महानगरले अघि बढाएको छ।’

सहिद मैदान निर्माणका लागि हाल एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। मैदान स्तरोन्नति तथा सम्याउने कार्यका लागि महानगरपालिकाको नयाँ प्रशासकीय भवन निर्माणका क्रममा सङ्कलित माटो प्रयोग गरी पुर्ने काम भइरहेको छ। चौरमा हाल रहेको मञ्चलाई सुदृढ गर्नुका साथै आकर्षक प्रवेशद्वार, घेराबार, ढल निकास, फुटपाथ, हरित क्षेत्र र अत्याधुनिक स्मार्ट शौचालय निर्माण गर्न बोलपत्र आह्वानको अन्तिम तयारी भइरहेको छ।

आगामी माघ १६ गते सहिद दिवसको अवसर पारेर सहिद मैदानको औपचारिक शुभारम्भ गर्ने लक्ष्य राखिएको छ। सोही दिन भरतपुरलाई ‘बालमैत्री महानगरपालिका’ घोषणा गर्ने कार्यक्रमसमेत तय भएकाले दुवै कार्यक्रम एकैसाथ सम्पन्न गर्ने गरी प्राविधिक टोलीलाई निर्देशन दिइएको छ।

यसैगरी, ज्येष्ठ नागरिक, बालबालिका तथा सर्वसाधारणका लागि मनोरञ्जन र पर्यटकीयस्थलका रूपमा विकास गर्न लागिएको ‘भरतपुर समन्वय पार्क’ निर्माणका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। महानगरपालिकाले यही महिनाभित्र पार्कको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तथा लागत अनुमान तयार गरी बोलपत्र प्रक्रियामा लैजाने तयारी गरेको छ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले गेस्ट हाउस चौरलाई थप व्यवस्थित र सौन्दर्यीकरण गर्न तथा आम नागरिकको प्रत्यक्ष प्रयोगमा ल्याउन सहिद मैदान र पार्क निर्माणका लागि महानगरलाई जग्गा उपलब्ध गराउने निर्णय गरिएको बताएका छन् । रासस

प्रकाशित मिति: मंगलबार, भदौ ९, २०८३  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update