काठमाडौं । नेपाली चलचित्र ‘गौँथली’ले हालसम्म साढे २५ करोडभन्दा धेरै रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।
साउन १ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले आइतबारसम्म २५ करोड ५ लाख ६५ हजार ७७२ रुपैयाँ ग्रसकलेक्सन गरेको चलचित्र विकास बोर्डको बक्सअफिस तथ्यांकले देखाएको छ । यही अवधिमा चलचित्र ९ लाख ९ हजार ४२६ जना दर्शकले हेरेका छन् ।
उत्साहजनक व्यापारसँगै ‘गौँथली’ नेपाली चलचित्र इतिहासमा सर्वाधिक कमाइ गर्ने चलचित्रको सूचीमा दोस्रो स्थानमा उक्लिएको छ । यसअघि दोस्रो स्थानमा रहेको ‘कबड्डी–४’ लाई पछि पार्दै ‘गौँथली’ले नयाँ कीर्तिमान बनाएको हो । सर्वाधिक कमाइ गर्ने चलचित्रको पहिलो स्थानमा भने ‘पूर्ण बहादुरको सारङ्गी’ रहेको छ ।
डा. कपिल रिजालको निर्देशनमा बनेको ‘गौँथली’ मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली र सीतादेवी तिमिल्सिनालगायत कलाकारको अभिनय छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।
डा. भोला रिजालको कथामा आधारित चलचित्रको पटकथा तथा संवादमा निर्देशक कपिल रिजालसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन् ।
दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रिया, बढ्दो शो र उत्साहजनक व्यापारले ‘गौँथली’लाई पछिल्लो समयको सफल नेपाली चलचित्रका रूपमा स्थापित गरेको छ । बक्सअफिसमा निरन्तर देखिएको दर्शकको आकर्षणले चलचित्रले आगामी दिनमा अझै व्यापार गर्ने देखिन्छ ।







