Khabar Out
‘मानव स्वास्थ्यका लागि नियमित योग आवश्यक छ’

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मानव स्वास्थ्यका लागि नियमित योग आवश्यक रहेको बताएका छन् । अन्तरराष्ट्रिय योग दिवसको अवसरमा आज बिहान जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा आयोजित योग कार्यक्रममा उनले योगाभ्यासले मानवलाई स्वस्थ राख्ने भएकाले योग शिक्षा अनिवार्य गर्नुपर्नेमा जोड दिए ।

स्वस्थ्य रहन मानवले दैनिक एक घण्टा योग गर्नुपर्ने बताउँदै मुख्यमन्त्री यादवले कार्यव्यस्थताका बाबजुद मानवले स्वस्थ्य रहन दैनिक योग गर्नुपर्ने धारणा राखे । “स्वास्थ्य महत्वपुर्ण विषय हो”, उनले भने, “स्वस्थ रहन योग आवश्यक छ, त्यसैले नियमित योग गरौँ र निरोग रहौँ ।” योग गर्दा स्वस्थसँगै सोच र विचारमा पनि परिवर्तन आउने उनको भनाइ छ ।

मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले निरोगी रहन नियमित योगाभ्यास आवश्यक रहेको उल्लेख गर्दै योगाभ्यासको शिक्षालाई समुदायस्तरसम्म फैलाउनुपर्नेमा जोड दिए ।

पर्साको वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावास र पतञ्जली योग समिति मधेस प्रदेश समितिद्वारा आयोजित योगाभ्यास कार्यक्रममा प्रदेश सरकारका मन्त्री, प्रदेशसभाका सदस्य, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार चौधरीलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति: शुक्रबार, असार ५, २०८३  १३:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update