Khabar Out
प्रतिनिधिसभा : राष्ट्रियताका सवालमा विपक्षीबाट सरकारको जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलहरूले राष्ट्रियताको सवालमा नेपाल सरकार गम्भीर हुनुपर्ने विषयमा ध्यानाकर्षण गराएका छन् ।

बैठकको सुरुमै विपक्षी दलका सांसदहरू आफ्नो स्थानबाट उठेर विरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले नेकपा (एमाले) का संसदीय दलका उपनेता पद्मा अर्याललाई बोल्न समय दिएका थिए ।

सांसद अर्यालले परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिका सन्दर्भमा जवाफ माग गरिन् । नेता अर्यालले संसद्मा जवाफका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको अभिव्यक्तिप्रति पनि असन्तुष्टि व्यक्त गरिन् ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री शाहले गत जेठ १७ गते सीमाका सम्बन्धमा दिएको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गरे । उनले एसइईका विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गर्ने, टेम्पो भीरबाट खसाल्ने र प्रहरीले व्यक्तिको घरमा ढुङ्गा हानेर क्षति पुर्‍याउनेलगायतका काम गलत भएको टिप्पणी गरे ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवाराज दुलालले भारतीय सेनाको हेलिकप्टर दार्चुलाको भूमिमा प्रवेश गरेको विषयमा सरकारको जवाफ माग गरे । उनले इलामको प्रसिद्ध चिया उद्योग बन्द हुन लागेको विषयमा सरकारको ध्यानाकर्षण गराए ।

नेपाली कांग्रेसका सांसद रेनुका काउँचाले गृहमन्त्री सुधन गुरुङको सम्पत्ति छानबिनसम्बन्धी समितिले तयार गरेको प्रतिवेदन सार्वजनिक हुनुपर्ने माग गरिन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद भरत गिरीले नवलपरासीको सुस्तामा भारतीय सुरक्षाकर्मी एसएसबीको हस्तक्षेपप्रति विनावर्दीका सिपाही बनेर नेपाली नागरिकले देखाएको अदम्य साहसप्रति सम्मान व्यक्त गरे । उनले सीमा क्षेत्रमा रहेका नेपालीहरूप्रति सरकार संवेदनशील हुनुपर्ने माग गरे । रासस

प्रकाशित मिति: सोमबार, असार १, २०८३  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update