Khabar Out
युरोपेली जलमार्गमा सुरक्षा र प्रतिबन्ध कार्यान्वयनकाे बहस पुनः चर्कियाे

काठमाडाैँ । बेलायतले सको ‘सेडो फ्लीट’ सँग सम्बन्धित एक प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा लिएपछि युरोपेली जलमार्गमा सुरक्षा र प्रतिबन्ध कार्यान्वयनबारे बहस पुनः चर्किएको छ। बेलायती रक्षा मन्त्रालयका अनुसार यो अपरेसन युक्रेन युद्धपछि रुसमाथि लगाइएका प्रतिबन्ध कार्यान्वयनका लागि गरिएको पछिल्ला कडा कदममध्ये एक हो ।

मन्त्रालयका अनुसार आइतबार करिब ६ घण्टा लामो संयुक्त अपरेसन सञ्चालन गरिएको थियो । अपरेसनमा चिनुक हेलिकप्टर, फ्रिगेट एचएमएस साउथह्याम्पटन लगायतका नौसैनिक जहाज र हवाई साधनहरू सहभागी थिए । सो क्रममा रोयल मरीन कमान्डो र राष्ट्रिय अपराध एजेन्सीका विशेष तालिमप्राप्त कानून प्रवर्तन अधिकारीहरूले एसएमवाइआरटिओएस नामक जहाजमा चढेर नियन्त्रण लिएका हुन्।

बेलायती अधिकारीहरूले यो अपरेसनलाई युक्रेनसँग जारी युद्धका सन्दर्भमा ‘रूसको सेडो फ्लीट विरुद्धको पहिलो यस प्रकारको समन्वित कदम’ भएको बताएका छन् । नियन्त्रणमा लिइएको जहाजलाई अहिले इङ्गल्यान्डको दक्षिणी तट नजिक लङ्गरमा राखेर निगरानीमा राखिने बताइएको छ ।

रक्षामन्त्री डान जार्विसले यस कदमले रुसको आर्थिक स्रोतमा प्रत्यक्ष असर पार्ने र युक्रेनविरुद्धको युद्धलाई आर्थिक रूपमा कमजोर बनाउने दाबी गरेका छन् । उनका अनुसार यो अपरेसन फ्रान्ससँग नजिकको समन्वयमा सम्पन्न गरिएको हो र यसले युरोपेली सुरक्षालाई बलियो बनाउने उद्देश्य राखेको छ ।

प्रधानमन्त्री किर स्टार्मरले पनि यस अपरेसनलाई समर्थन गर्दै यसले रुसलाई थप सन्देश दिएको र प्रतिबन्ध उल्लङ्घन गर्ने गतिविधिमा संलग्न पक्षहरूलाई स्पष्ट चेतावनी दिएको बताए ।

रुसले पश्चिमी प्रतिबन्धहरूबाट जोगिन प्रयोग गर्दै आएको ‘सेडो फ्लीट’ अन्तर्गत सयौँ पुराना तथा अस्पष्ट स्वामित्व भएका तेल ट्याङ्करहरू समावेश छन्, जसलाई बेलायतसहितका देशहरूले प्रतिबन्धित सूचीमा राखिसकेका छन्। यस्ता जहाजहरूलाई बेलायती बन्दरगाह र सेवामा पहुँच निषेध गरिएको छ ।

बेलायतले सन् २०२२ मा युक्रेनमा रुसले आक्रमण गरेयता यस्ता जहाजहरूमाथि नियन्त्रण र प्रतिबन्ध कडा बनाउँदै आएको छ। मार्च महिनामा सरकारले बेलायती जलक्षेत्रमा यस्ता जहाज चढेर नियन्त्रणमा लिन सक्ने अधिकार सेनालाई दिएको घोषणा गरेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा तेल आपूर्ति र मूल्य स्थिरताबारे चिन्ता बढिरहेका बेला यो कदम चालिएको हो । यसअघि फ्रान्स, बेल्जियम, फिनल्यान्ड लगायतका युरोपेली देशहरूले पनि यस्तै प्रकृतिका प्रतिबन्ध उल्लङ्घन गर्ने जहाजहरू नियन्त्रणमा लिइसकेका छन्।

बेलायती रक्षा मन्त्रालयले सेडो फ्लीटमाथिको यो कारबाहीले रुसको युद्ध वित्तीय संरचनामा प्रत्यक्ष प्रभाव पार्ने दाबी गर्दै भविष्यमा पनि यस्ता अपरेसन जारी रहने सङ्केत दिएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ३१, २०८३  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update