म्याग्दी । जिल्लाको बेनी नगरपालिका-२ खबराको बगैँचामा केराको बोट सुक्न थालेपछि किसानहरु चिन्तित भएका छन् । एक सय २० परिवार रहेको खबराका एक सयभन्दा बढी कृषकले व्यावसायिक केराखेती गर्दै आएका छन् ।
केराखेती खबराका नागरिकको मुख्य आयस्रोत हो । अगुवा किसान सोवित शर्माले पसाउने समयमा टुप्पोमा पात पहेँलो हुने र गाना कालो भएर बोट सुक्ने समस्या बढेपछि किसान चिन्तित बनेका बताए।
“पछिल्लो एक/दुई वर्षयता केराको बोट सुक्ने समस्या बढ्दै जाँदा खबराको केराखेतीमा चुनौती सिर्जना भएको छ”, उनले भने, “कृषि प्राविधिकले समस्याको पहिचान र उपचार सफल नहुँदा केराखेती मासिने र किसान मारमा पर्ने जोखिम बढेको छ ।”
सबैजसो बगैँचामा केराको गुभो (बोटको भित्री भाग) कुहिने र बोटसुक्ने समस्या देखिन थालेको किसान बताउँछन् । तीव्र रूपमा फैलिएको बोट सुक्ने समस्या समाधान हुन सकेको छैन । यो समस्या पहिलादेखि नै रहेको भन्दै केराका बोट सुक्न थालेपछि विकल्पमा केराका बोट मासेर बेसारखेती गर्न थालेको किसान घनश्याम सापकोटाले बताए।
जिल्ला कृषि विकास कार्यालयका प्रमुख सञ्जिव बास्तोलाले खबराको केराखेतीमा देखिएको समस्या पहिचानका लागि बाली प्रयोगशालासँग प्राविधिक सहयोग मागिएको बताउनुभयो । “के कारणले बोट सुकेको हो र कसरी समाधान गर्ने भन्ने विषयमा अनुसन्धानका लागि प्राविधिक टोलीको सहयोग मागेका छौँ”, उनले भने, “बाली संरक्षण कार्यक्रममार्फत खबराको केराखेतीमा देखिएको समस्या समाधानका लागि पहल गर्छौं ।”
खबरामा पाखोबारी, खोल्सा, कान्ला, डिल केराको घारीले भरिएका छन् । यहाँका किसानले धान, गहुँ, मकै, कोदोलगायत खाद्यबालीको विकल्पमा केराखेती गरेका हुने गरेकाे छ । एक जनाले दुई देखि २० रोपनी जग्गामा हजारी जातको केरा लगाएका उनले जानकारी दिए।
केराखेतीबाट मासिक न्यूनतम रु १०-१२ हजारदेखि ५० हजारभन्दा बढी आम्दानी हुने किसान बताउँछन् । घरव्यवहार चलाउन र छोराछोरी पढाउन केराखेतीको आम्दानीले सहयोग पुगको छ । घरव्यवहार चलाएर बचेको पैसाले कच्ची घरलाई पक्की बनाएको स्थानीय किसान हिरा कुँवरले बताइन्।
उपयुक्त हावापानी, भूगोल र बजार नजिक भएका कारण खबराका किसानले केराखेती विस्तार गरेका हुन् । बिरुवा रोपेको दुई वर्षदेखि उत्पादन लिन सकिन्छ । एकघरी केरामा एक हजार वटासम्म कोसा लाग्ने गर्छ । धेरैपटक मलजल, खनजोत र गोडमेल गर्नु नपर्ने हुँदा केराखेती अन्य फलफूलको तुलनामा सजिलो भएको किसानको अनुभव छ । केराको घारीलाई मलका रूपमा प्रयोग गर्न सकिन्छ ।
विसं २०५८ मा मानबहादुर थापाले काठमाडौँबाट भित्र्याएको केरा खबरामा मात्रै नभएर म्याग्दी, पर्वत र बाग्लुङमा पनि फैलिएको छ । बेनी नगरपालिकाले खबरालाई केराको पकेट क्षेत्र बनाउने उद्देश्यले तीन वर्षअघि बिरुवा वितरण गरेको थियो ।







