Khabar Out
अफगानिस्तानमा सडक दुर्घटनामा ८ जनाको मृत्यु, १६ जना घाइते

काठमाडाैँ। पूर्वी अफगानिस्तानको परवान प्रान्तमा मंगलबार भएको एक भीषण सडक दुर्घटनामा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने १६ जना गम्भीर रूपमा घाइते भएका छन्।

प्रहरीका अनुसार दुर्घटना शिनवारी जिल्ला अन्तर्गत अस्तामा क्षेत्रमा भएको हो, जहाँ यात्रु बोकेको एक सवारीसाधन पहाडी सडक हुँदै यात्रा गरिरहेको बेला चालकले नियन्त्रण गुमाएपछि गाडी सडकबाट चिप्लिएर गहिरो भीरमा खसेको थियो। भीरमा खस्नेबित्तिकै सवारीसाधन पूर्ण रूपमा क्षतिग्रस्त भएको र घटनास्थलमै ४ बालबालिकासहित ८ यात्रुको मृत्यु भएको बताइएको छ।

दुर्घटनापछि स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरूले तत्काल उद्धार कार्य सुरु गरेका थिए र घाइते भएका १६ जनालाई नजिकैको अस्पताल पुर्‍याइएको छ। अस्पताल स्रोतका अनुसार धेरै घाइतेको अवस्था गम्भीर रहेको छ, जसका कारण मृतक संख्या बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ। प्रहरी प्रवक्ता फजुल रहिम मुस्केन्यार ले प्रारम्भिक अनुसन्धानमा दुर्घटनाको मुख्य कारण तीव्र गति र चालकको लापरवाह व्यवहार रहेको बताएका छन्।

यस घटनाभन्दा केही दिनअघि मात्र पूर्वी लाघमान प्रान्तमा पनि अर्को ठूलो सडक दुर्घटना भएको थियो, जहाँ अत्यधिक भार बोकेको ट्रक पल्टिँदा १८ जनाको मृत्यु र ३० जना घाइते भएका थिए। यी लगातार भइरहेका दुर्घटनाहरूले अफगानिस्तानमा कमजोर सडक पूर्वाधार, जोखिमपूर्ण पहाडी भूभाग, सवारीमा अत्यधिक यात्रु तथा सामान बोक्ने प्रवृत्ति, अवैध ओभरटेकिङ र तीव्र गतिका कारण सडक दुर्घटनाहरू बारम्बार हुने गम्भीर समस्या रहेको देखाएको छ। रासस

प्रकाशित मिति: मंगलबार, जेठ १९, २०८३  २२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update