Khabar Out
मध्यपहाडी लोकमार्गको वैकल्पिक ‘पाखुट्टे—ढाँड’ सडक ‘ग्राभेलिङ’

बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक स्तरोन्नति गरिएको छ । यहाँको निसीखोला गाउँपालिका–४ झिम्पाखोलादेखि वडा नं ५ ढाँडसम्मको सडक स्तरोन्नति गरिएको हो ।

विसं २०७३ मा ट्रयाक खुलेको उक्त सडक चालु आर्थिक वर्षमा सङ्घीय सरकार र निसीखोला गाउँपालिकाको रु एक÷एक करोड गरी रु दुई करोडमा स्तरोन्नति गरिएको हो ।

यस वर्ष चार किलोमिटर ग्राभेल, ढलान, नाली निर्माण, फराकिलो बनाउने र ग्याविन लगाउने काम गरिएको गाउँपालिकाका सूचना अधिकारी डिलाराम बाँठा मगरले जानकारी दिए । आगामी असार १५ गतेसम्म काम सक्ने गरी जेएसआर–केटी जेभीसँग विसं २०८२ माघ २७ गते सम्झौता गरिएकामा सोहीअनुसार काम भएको उनले बताए ।

बर्खाको समयमा निसीखोला गाउँपालिका–५ कालापैरामा आउने बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध हुने हुँदा यस वर्ष वैकल्पिक सडकमार्फत यातायात सञ्चालन गर्न यस खण्डमा ग्राभेल गरिएको बाँठा मगरले बताए ।

उनले भने, “यस वर्ष चार किलोमिटर सडकमा ठूलो लगानी गरे ग्राभेल गरिएको छ, यो सडक व्यवस्थित भएपछि अब बर्खाको समयमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भए छोटा तथा लामा दूरीका सवारीसाधनलाई समस्या हुने छैन, सङ्घीय सरकार र गाउँपालिकाको बजेटबाट विगतदेखि नै साझेदारीमा काम हुँदै आएको छ ।”

उक्त सडक ढोरपाटन नगरपालिका–२ पाखुट्टेदेखि निसीखोला–५ ढाँडसम्म २५ किलोमिटर लामो छ । यसले निसीखोला गाउँपालिकाको वडा नं २, ४, ५ र ढोरपाटन नगरपालिकाको वडा नं २ लाई जोडेको छ । दश वर्ष अगाडि साविक निसी, बोहोरागाउँ र देवीस्थान गाविसले दुई–दुई लाख, अर्थ मन्त्रालयबाट रु ४० लाख, डोलीडार संस्थाबाट रु सात लाख, जिल्ला विकास समितिबाट रु आठ लाख सङ्कलन गरी रु ६१ लाखमा ट्रयाक खोलिएको थियो ।

सडक ग्राभेल भएपछि सामान ढुवानी र यात्राका लागि सहज हुने स्थानीय मीनबहादुर घर्ती मगरले बताए। ट्रयाक खुलेको एक दशकसम्म पनि सडक व्यवस्थित नहुँदा यहाँ गाडी गुड्न सकेका छैनन । अब पश्चिम नेपालबाट राजधानी काठमाडौँ जाने सवारीसाधन यही सडक भएर सञ्चालन गर्न सहज हुने उनको भनाइ छ । रासस

प्रकाशित मिति: मंगलबार, जेठ १९, २०८३  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update