Khabar Out
प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती र भ्रमपूर्ण :   पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति तथा पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएका छन् ।

जारी प्रेस विज्ञप्तिमार्फत खड्काले जेठ १७ गते प्रतिनिधिसभामा प्रधानमन्त्रीले व्यक्त गरेका विचारले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय मर्यादा र स्वाभिमानमाथि गम्भीर आघात पुर्‍याएको बताएका छन् ।

प्रधानमन्त्रीले संसदमा “नेपालले पनि धेरै ठाउँमा भारतको भूमि मिचेको रहेछ भन्ने प्रधानमन्त्री भएपछि थाहा पाएँ” भन्ने आशयको अभिव्यक्ति दिएको उल्लेख गर्दै खड्काले उक्त भनाइ सत्य तथ्यविहीन, अप्रमाणित, भ्रमपूर्ण, कपोलकल्पित तथा राष्ट्रघाती रहेको आरोप लगाएका छन् ।

विज्ञप्तिमा नेपालको इतिहासमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कसैले पनि नेपालले भारतको भूमि अतिक्रमण गरेको दाबी नगरेको उल्लेख गरिएको छ । साथै नेपालले कुनै पनि छिमेकी राष्ट्रको भूमि मिचेको नीतिगत वा आधिकारिक आधार नभएको र भारतले समेत त्यस्तो दाबी नगरेको खड्काको भनाइ छ ।

खड्काले यस्तो अवस्थामा प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिले नेपालको स्वाभिमान र मर्यादामा गम्भीर क्षति पुर्‍याएको दाबी गर्दै उक्त विचारप्रति आफ्नो घोर निन्दा रहेको बताएका छन् ।

“प्रधानमन्त्रीको अभिव्यक्तिले देशको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय मर्यादा र स्वाभिमानमा गम्भीर आघात पुर्‍याएको छ,” विज्ञप्तिमा उल्लेख छ ।

खड्काले राष्ट्रिय हित र संवेदनशील विषयमा जिम्मेवार अभिव्यक्ति दिन राजनीतिक नेतृत्वलाई आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ १८, २०८३  २२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update