काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठकमा सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत गरेको बजेटमाथि औपचारिक छलफल सुरु हुने भएको छ ।
संसद् सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ ।
अर्थमन्त्रीले प्रस्ताव प्रस्तुत गरेपछि विभिन्न राजनीतिक दलका सांसदहरूले बजेटका प्राथमिकता, कार्यक्रम तथा विनियोजनका विषयमा आफ्ना धारणा राख्नेछन् । बजेटमा समेटिएका आर्थिक नीति, विकास योजना, सामाजिक सुरक्षा, पूर्वाधार निर्माण तथा राजश्व व्यवस्थापनका विषयमा छलफल सुरु हुने भएको छ ।
सरकारले गत जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको थियो । बजेट सार्वजनिक भएलगत्तै विभिन्न क्षेत्रबाट यसको प्रभावकारिता, कार्यान्वयन क्षमता तथा स्रोत व्यवस्थापनबारे मिश्रित प्रतिक्रिया आइरहेका छन् ।
प्रतिनिधिसभामा हुने छलफलपछि सांसदहरूले उठाएका प्रश्न र सुझावहरूको जवाफ अर्थमन्त्रीले दिनेछन् । त्यसपछि बजेटसँग सम्बन्धित विनियोजन विधेयक तथा अन्य आर्थिक विधेयकहरूलाई पारित गर्ने प्रक्रिया अघि बढाइने संसद् सचिवालयले जनाएको छ ।







