Khabar Out
नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता देखाएको छ ।

राप्ती नदी र अन्य खोलाबाट अवैध रूपमा हुने गरेको माटो तथा नदीजन्य पदार्थ उत्खनन एवं ढुवानी रोक्न नियमित अनुगमन तथा निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए। उनका अनुसार शनिबारमात्रै कोहलपुर नगरपालिका–७ लखनहवा र बैजनाथ गाउँपालिका–२ जब्दहवा क्षेत्रमा अवैध रूपमा माटो तथा नदीजन्य पदार्थ उत्खनन एवं ढुवानीमा संलग्न तीन सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले एक थान जेसिबी, एक थान टिपर र एक थान ट्याक्टर नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका सवारीसाधनलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको प्रहरी उपरीक्षक जिसीले बताए ।

नदीजन्य पदार्थको अवैध रूपमा उत्खनन र ढुवानी भइरहेको जनगुनासोका आधारमा जिल्ला प्रहरी कार्यालयले प्राकृतिक स्रोत तथा साधनको अवैध दोहन रोक्न नियमित अनुगमन तथा निगरानीलाई निरन्तरता दिँदै आएको उनको भनाइ छ । रासस

प्रकाशित मिति: सोमबार, जेठ १८, २०८३  ०८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update