झापा । झापाको दमक नगरपालिका–१० स्थित सेतुमारी क्षेत्रमा रहेको रतुवा खोलाको पुलमुनि अज्ञात महिलाको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय झापाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार शुक्रबार बिहान करिब ११ बजे रतुवा खोलामा बगिरहेको अवस्थामा एक महिलाको शव फेला परेको हो। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीका अनुसार मृतक महिलाको हालसम्म पहिचान खुल्न सकेको छैन। शव करिब २–३ दिनअघिदेखि पानीमा रहेको अनुमान गरिएको छ। महिलाले रातो रङको भेस्ट तथा करिब ३०/३२ नम्बरको पाइन्ट लगाएको विवरण प्रहरीले सार्वजनिक गरेको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। मृतकको सनाखत हुन नसकेकाले उनलाई चिन्न सक्ने अभिभावक, आफन्त, साथीभाइ वा अन्य व्यक्तिलाई नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
प्रहरीले मृतक महिलाको बाँया हातमा रहेको ट्याटुसहितको तस्बिरसमेत सार्वजनिक गर्दै पहिचानका लागि सहयोग गर्न आग्रह गरेको छ।
प्रहरीले शवको पहिचान र घटनाको यथार्थ विवरण पत्ता लगाउन अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ।







