पर्वत । समुद्री सतहदेखि तीन हजार ३०० मिटरको उचाइमा रहेको जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल कालाञ्जर पहाडमा अतिथि गृह निर्माण गरिएको छ ।
जिल्लाको सबैभन्दा उचाइमा रहेको स्थानमा अवस्थित कालाञ्जर पहाडमा अध्ययन, अवलोकन र घुम्नका लागि आउने पर्यटकहरुलाई लक्षित गरी रु एक करोडभन्दा बढीको लागतमा अतिथि गृह निर्माण गरिएको हो । एकै स्थानबाट झण्डै एक दर्जन जिल्ला सदरमुकामको दृश्यावलोकन गर्न सकिने छ ।
साथै पवित्र कालञ्जर भूमिलाई हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल र धार्मिक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले जलजला गाउँपालिकाले आफ्नै बजेटबाट आठकोठे पक्की भवन निर्माण गरेको छ । आठवटै कोठमा ‘शौचालय’सहित सुविधासम्पन्न बनाइएको छ ।
पछिल्लो समय यहाँ धार्मिक तथा अध्ययन, अवलोकन र बिदाको समयमा घुम्न आउने पर्यटकको सङ्ख्या उल्लेख्य मात्रामा वृद्धि भएको छ । धार्मिक हिसाबले समेत उत्तिकै महत्वपूर्ण मानिने जलजलामा मुक्तिनाथ पीठाधिश्वर स्वामी कमलनयनाचार्यको आश्रम रहेकाले उनका अनुयायीहरु समेत यहाँ पुग्ने गरेका छन् ।
गाउँदेखि झण्डै ६ घण्टाको पैदलयात्रा र तीन घण्टाको सवारीसाधनमार्फत पुग्न सकिने कालाञ्जरमा अन्य कुनै होटल सुविधा तथा बस्ती नभएकाले अतिथि गृह निर्माण गरिएको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिए ।
उनका अनुसार योग, ध्यान र साधनाका लागि आउनेहरुलाई मात्र नभएर सबै खालका पर्यटकलाई आश्रय सुविधा दिइने भएको छ । अहिले निःशुल्क रुपमा दिइएको आवास सुविधालाई निश्चित शुल्क तोकेरे दिने व्यवस्था गर्न लागिएको अध्यक्ष आचार्यले जानकारी दिए ।
कालाञ्जरलाई धार्मिक मात्र नभई विज्ञान, प्रविधि तथा पर्यटन प्रवद्र्धनलाई एकसाथ जोड्ने उद्देश्यसहित जलजला गाउँपाालिकाले खगोल अध्ययन केन्द्र स्थापना गर्न समेत थालेको छ ।
जलजला ५ र ६ मोदी गाउँपालिकाको सङ्गमस्थलमा रहेको कालञ्जर हम्पाल क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन सङ्घीय, प्रदेश र गाउँपालिकाले संयुक्त रुपमा पूर्वाधार निर्माण थालेका हुन् । यसअघि ‘दृश्यावलोकस्थल’, खानेपानीको व्यवस्था, शौचालय निर्माण र सडक स्तरोन्नति तथा विद्युतीकरणलगायतका सुविधा विस्तार गरिसकिएको जनाइएको छ ।
कालाञ्जर, हम्पाल र जलजला क्षेत्रमा १२ सय वर्गमिटरको कृत्रिम ताल निर्माण प्रक्रिया अघि बढाइएको छ । हम्पाल र जलजलालाई पर्यटकीयस्थलका रुपमा विकास गर्न करिब रु एक अर्बको लागत अनुमान गरिएको योजना तयार पारी पूर्वाधार निर्माण थालिएको अध्यक्ष आचार्यले बताए ।
यहाँबाट हिमशृङ्खला, सूर्योदय, सूर्यास्त र मनोरम पहाडी भूगोलको अवलोकन गर्न सकिन्छ । धौलागिरि, अन्नपूर्ण, नीलगिरि, गुर्जा, पुथा, माछापुच्छ्रे मनास्लुलगायत १६ भन्दा बढी हिमालका साथै पर्वत, बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा, गुल्मी, पाल्पा, गोरखा, तनहुँ, लमजुङसम्मको भूगोल अवलोकन गर्न सकिने सुन्दर पर्यटकीयस्थल रहेकाले यहाँ दैनिकजसो आउने पर्यटकको सङ्ख्या बढ्दै गएको जलजलामा होटल सञ्चालन गर्दै आएका टीका पुनले बताए ।
यो क्षेत्र प्राचीन धर्मग्रन्थहरूमा ‘मृग सरोवर’ र सीमसार क्षेत्रका रुपमा उल्लेख छ । हनुमानले यही क्षेत्रबाट जडीबुटी लगेर औषधोपचारमा प्रयोग गरेको मुक्तिनाथ पीठाधिश्वर स्वामी कमलनयनाचार्यको भनाइ छ । स्वामी कमलनयनाचार्यले केही समय कालञ्जर भूमिमै तपस्या गरेका थिए ।
कालाञ्जर र हम्पाल क्षेत्रमा नीरमसी, पाँचऔँलो सतुवालगायत बहुमूल्य जडीबुटी प्रशस्त पाइने जलजला क्षेत्रको जङ्गलमा कालो वर्णको मृग, घोरल, चितुवा, भालु, डाँफे, मुनाल, कालिजलगायत पशुपन्छीको बसोबास रहेको भनाई छ ।
कालाञ्जर, हम्पाल र जलजला क्षेत्रको एकीकृत विकासका लागि मोदी गाउँपालिका र जलजला गाउँपालिकाले प्रदेश तथा सङ्घीय सरकारसँगको सहकार्यमा करोडौँ लगानी गरिसकेको मोदी गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले जानकारी दिए । रासस







