म्याग्दी । अन्नपूर्ण गाउँपालिकाको रणनीतिक महत्वको खिवाङ–घराम्दी सडक योजना निर्माण अलपत्र बनेको छ।
गत आर्थिक वर्षमा सडक निर्माण गर्ने जिम्मेवारी लिएको ठेकेदार कम्पनीले अधुरो बनाएको उक्त योजनाका लागि चालु आर्थिक वर्षमा विनियोजन भएको रु एक करोड बजेट पनि कार्यान्वयन हुन नसक्दा अलपत्र बनेको अन्नपूर्ण गाउँपालिका–७ का वडाध्यक्ष मइलन गर्बुजा पुनले बताए।
“गत वर्षको असारमा रोकिएको अन्नपूर्ण गाउँपालिकाको प्राथमिकताप्राप्त यस आयोजनाका ठेकेदार चालु आव सकिनै लाग्दासमेत काममा फर्किएका छैनन्”, उनले भने, “अघिल्लो वर्षको ठेक्का पूरा नहुँदासम्म नयाँ ठेक्का लगाउन नपाउने नीतिगत व्यवस्थाका कारण चालु आवको वजेट कार्यान्वयन नहुँदा निराश भएका छौँ ।”
करिब दुई किलोमिटर दूरीको सडकको मार्ग खुलाउन एसएण्डएस कन्ट्रक्सनले रु ५५ लाख ४० हजार ८८१ मा ठेक्का सम्झौता गरेको थियो । पचपन्न दशमलव ५१ प्रतिशत भौतिक प्रगति भएको उक्त योजनामा गत साउन महिनायता काम भएको छैन।
लागत अनुमान भन्दा ४५ प्रतिशत घटेर ठेक्का हातापार्न सफल सो कम्पनीले घाटा पर्ने भएपछि जिम्मेवारीबाट पन्छिन खोजेको वडाध्यक्ष पुर्जाले बताए।
अन्नपूर्ण गाउँपालिकाको ५, ६, ७ र ८ नम्बर वडालाई जोड्ने छोटो दूरीको र राष्ट्रिय राजमार्गको वैकल्पिक भएकाले खिवाङ–घराम्दी सडकलाई अन्नपूर्ण गाउँपालिकाले प्राथमिकता दिएको हो।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले पटकपटक ताकेता र समन्वय गर्दा पनि सम्पर्कमा नआउने निर्माण व्यवसायीको धरौटी जफत, कालोसूचीमा राखेर कारबाही गर्ने प्रक्रिया अघि बढाएको बताए।
निर्माण व्यवसायीले भने भौगोलिक विकटता, इन्धन र निर्माण सामग्रीको मूल्य वृद्धिका कारण योजनाको काम प्रभावित बनेको प्रतिक्रिया दिएका छन्।
अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने खिवाङदेखि वडा नम्बर ७ को घराम्दी, टिकोट हुँदै वडा नम्बर ८ राम्चे जोडिने उक्त सडक राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, म्याग्दी र पर्वत तथा कास्की जिल्ला जोड्ने वैकल्पिक भएकाले रणनीतिक मानिएको छ। रासस







