काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई राज्य संयन्त्रमार्फत धरपकड गर्न खोजिएको भन्दै पत्रकार तथा सञ्चारसम्बद्ध विभिन्न संगठनहरूले कडा आपत्ति जनाएका छन् । नेपाल पत्रकार महासंघ, नेपाल पत्रकार महासंघ काठमाडौं शाखा, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल लगायतका संगठनहरूले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप तत्काल रोक्न सरकारलाई चेतावनी दिएका हुन् ।
संगठनहरूले पत्रकार श्रेष्ठमाथि भएको व्यवहारलाई “लोकतान्त्रिक मूल्य–मान्यता विपरीत”, “प्रेस स्वतन्त्रतामाथिको सीधा आक्रमण” तथा “राज्य शक्तिको दुरुपयोग” को संज्ञा दिएका छन् । उनीहरूले समाचार लेखेकै आधारमा पत्रकारलाई त्रसित बनाउने, धरपकडको प्रयास गर्ने वा दवाव सिर्जना गर्ने कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।
नेपाल पत्रकार महासंघले जारी गरेको विज्ञप्तिमा सञ्चारमाध्यम र पत्रकारलाई धम्की दिने, नियन्त्रण गर्न खोज्ने तथा राज्य शक्तिको आडमा प्रेसमाथि हस्तक्षेप गर्ने प्रवृत्ति लोकतन्त्रका लागि घातक भएको उल्लेख गरिएको छ । महासंघले पत्रकारको संवैधानिक अधिकारमाथि कुण्ठित गर्ने कुनै पनि गतिविधि बन्द गर्न सरकारसँग माग गरेको छ ।
महासंघ काठमाडौं शाखाले पनि पत्रकारलाई अपराधीजस्तो व्यवहार गर्नु निन्दनीय भएको उल्लेख गर्दै समाचारको विषयमा असहमति भए कानुनी र लोकतान्त्रिक बाटो अवलम्बन गर्नुपर्ने बताएको छ । शाखाले प्रेस स्वतन्त्रताको रक्षा गर्न सम्पूर्ण सञ्चारकर्मी एकजुट हुनुपर्ने आवश्यकता औंल्याएको छ ।
त्यसैगरी प्रेस चौतारी नेपालले पत्रकारमाथिको दवाव र धरपकड प्रयास प्रेसमाथिको सुनियोजित आक्रमण भएको टिप्पणी गरेको छ । संगठनले निष्पक्ष पत्रकारितालाई कमजोर बनाउने उद्देश्यले गरिएको कुनै पनि गतिविधिको प्रतिवाद गरिने चेतावनी दिएको छ ।
प्रेस सेन्टर नेपालले पनि विज्ञप्ति जारी गर्दै पत्रकारलाई त्रासमा राखेर सत्य सूचना प्रवाह रोक्न खोजिएको आरोप लगाएको छ । संगठनले लोकतान्त्रिक व्यवस्थामा प्रेसलाई नियन्त्रण गर्ने मानसिकता अस्वीकार्य भएको जनाउँदै पत्रकार सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग माग गरेको छ ।
पत्रकार महासंघसहित विभिन्न सञ्चारसम्बद्ध संगठनहरूले राज्य पक्षलाई संयमता अपनाउन, प्रेस स्वतन्त्रताको सम्मान गर्न तथा पत्रकारमाथि हुने दवाव र हस्तक्षेप तत्काल बन्द गर्न आग्रह गरेका छन् । उनीहरूले प्रेस स्वतन्त्रता कमजोर पार्ने कुनै पनि कदमविरुद्ध सशक्त प्रतिरोध गरिने चेतावनीसमेत दिएका छन् ।







