Khabar Out
प्रहरी कार्यालयमा दाताको सहयोगमा नागरिक सहायता कक्ष भवन निर्माण

म्याग्दी । जिल्ला प्रहरी कार्यालयको परिसरमा नागरिक सहायता र प्रहरी परिचालन कक्षको भवन निर्माण भएको छ ।

रुपैयाँ ३५ लाख बराबरको निर्माण सामग्री र सहयोग जुटाएर दुई तले भवन निर्माण गरेको कार्यालयले जनाएको छ । गत पुस महिनादेखि सुरु भएको भवन निर्माण सम्पन्न गरेर यसै हप्तादेखि प्रयोगमा ल्याइएको प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । “पुरानो साँघुरो भवनबाट सेवा प्रवाहमा असहज भएपछि त्यसलाई भत्काएर नयाँ बनाइएको हो,” उनले भने “सरकारी निकायको बजेट खर्च नगरी म्याग्दीमा निर्माणाधीन जलविद्युत आयोजना र दाताहरूको सहयोगबाट भवनका साथै प्रवेशद्वार र शौचालय निर्माण भएको छ ।”

३८ जना दाताहरूले उपलब्ध गराएको निर्माण सामग्री, नगदको विवरण भवनमा सूचना पाटी बनाएर सार्वजनिक गरिएको छ । नयाँ भवनको भुईँ तलामा सहायता कक्ष छ भने पहिलो तलामा बहुउद्देश्यीय सभा हल तथा बैठक कक्ष बनाइएको छ ।

म्याग्दीखोला जलविद्युत आयोजनाको प्रवर्द्धक हाइड्रो भिलेजले चार लाख ७२ हजार चार सय ७८, कालीगण्डकी गर्जले रुपैयाँ चार लाख, मध्य कालीगण्डकी जलविद्युत आयोजनाबाट रुपैयाँ दुई लाख २७ हजार एक सय ५०, डाडाखेत–राहुघाट प्रसारण लाइनबाट रुपैयाँ एक लाख ५५ हजार, चितवन इनर्जीबाट रुपैयाँ एक लाख ५३ हजार हजार बराबरको निर्माण सामग्री प्राप्त भएको कार्यालयले जनाएको छ ।

भवन निर्माणमा मजदुरहरुको अलावा प्रहरी, कर्मचारी र निर्वाचन प्रहरीहरूले पनि श्रमदान गरेका प्रनाउ थापाले बताए । रासस

प्रकाशित मिति: शनिबार, जेठ ९, २०८३  ०९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update