Khabar Out
टीकापुर नगरपालिकाद्वारा १ सय ९३ फार्म र व्यवसायको अनुगमन

कैलाली । कैलालीको टीकापुर नगरपालिकाले एक सातामा १९३ फार्म तथा व्यवसायको अनुगमन गरेको छ । बजार व्यवस्थापन तथा उपभोक्ता हितका लागि गरिएको बजार अनुगमनका क्रममा मापदण्ड विपरीतका ६५ किलो प्लाष्टिकजन्य झोला जफत गरिएको हो ।

पालिकाले गत वर्षको साउनदेखि टीकापुरमा प्लाष्टिकजन्य झोला प्रयोगमा निधेष गरेको छ । लुकीछिपी मापदण्डविपरीतका प्लाष्टिकका झोला प्रयोग गरिरहेकामाथि निगरानी गरी प्रयोग रोक्ने उद्देश्यले जफत गरिएको नगर कार्यालयले जनाएको छ । अनुगमनका क्रममा म्याद नाघेका रु १८ हजार ९३९ बराबरका दैनिक उपभोग्य सामान जफत गरेको छ ।

अनुगमनका क्रममा ११७ किराना तथा अन्य व्यवसाय, ५२ वटा प्लाष्टिक व्यापारी, २४ वटा मेडिकल तथा फार्मेसीमा अनुगमन गरिएको अनुगमन टोलीका सदस्य सचिव एवं आर्थिक विकास शाखा प्रमुख रञ्जु आचार्यले बताइन् ।

टीकापुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुमन धितालले अनुगमन गरी केही व्यवसायीलाई मापदण्ड पूरा गर्न निर्देशन दिइएको, केही व्यवसायीलाई अन्तिम पटक चेतावनी दिइएको बताए । “व्यवसाय दर्ता नभएकालाई नवीकरण गर्न समय दिइएको, नवीकरण नभएकालाई तत्काल प्रक्रियामा लगेका छौँ”, उनले भने, “प्लाष्टिकका झोला लाखौँ रकमका भेटिएका छन् । थोक बिक्रेताका गोदाममा रहेका प्लाष्टिकका झोला शिल गरेर अबदेखि बिक्री नगर्न निर्देशन दिइएको छ ।”

पालिकाले उपभोक्ता सचेतनाका कार्य निरन्तर गरिरहेको बताउँदै धितालले हरेक उपभोक्ता म्याद नाघेको मितिमात्र हेर्न सक्ने भएमा उपभोक्ता अधिकार सुरक्षित हुने बताए । उपभोक्ता हित संरक्षण मञ्च टीकापुरका अध्यक्ष एकिन्द्र तिमिल्सिनाले टीकापुरमा अटोरिक्साको भाडादर कायम गर्न, बजारमा ठूलो स्वरमा बजाइने डिजे र लाउड स्पिकरबाट हुने ध्वनि प्रदूषण व्यवस्थापन गर्न, सहरी सडक प्रयोगमा गाह्रो भएकाले ट्राफिक सचेतनामा समन्वय गर्न, प्लाष्टिकको प्रयोग रोक्न नियमित रूपमा अनुगमन गर्न अनुरोध गरे ।

टीकापुर अस्पतालका फार्मेसी इञ्चार्ज जनक शाहले मेडिकल व्यवसायी वा फार्मेसी सञ्चालकलाई फोहर व्यवस्थापनमा समस्या रहेकाले, अस्पतालमा रहेको फोहर व्यवस्थापन केन्द्रसँग समन्वय गरी सहजीकरण गर्न अनुरोध गरे ।

टीकापुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले अनुगमनपछि औषधि पसलका सञ्चालक पसल दर्ताका लागि आउन थालेका, २२ मेडिकललाई दर्ताका लागि म्याद दिइएको, आमाको दूध प्रतिस्थापन ऐनको जानकारीपछि व्यवस्थित भएको बताए ।

“हामीले अनुगमनका स्तनपानलाई प्राथमिकता दिनुपर्छ भनी आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरणमा नियमित गरेपछि दूधदानी, पाउडर दूधलगायतका सामग्री मनपरि नबेच्न भनेका छौँ”, उनले भने, “अहिले व्यापारी सचेत हुनुभएको छ । डाक्टरको सिफारिस भए मात्र बेच्न थाल्नुभएको छ ।”

वडा नं १ का वडाध्यक्ष मोहन विकले बजार वडामा करिब तीन हजार व्यवसाय दर्ता रहेकामा, अनुगमनपछि दैनिक पाँच जनासम्म व्यवसाय दर्ता बढेको बताए । “प्लाष्टिकमुक्त अभियानमा टोल विकास संस्थालाई तालिम दिएका छौँ”, उनले भने, “बजारमा मालबहाक टिपरको गति बढेकाले यसलाई कम गर्नुपर्नेछ । बालबालिका विद्यालय जाने र घर फर्कने समयमा मालबहाक सवारीसाधन सञ्चालनमा रोक लगाउनुपर्छ । यसले दुर्घटना निम्त्याएको छ ।” रासस

प्रकाशित मिति: शुक्रबार, जेठ ८, २०८३  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update