बाँके । बाँकेको वैजनाथ गाउँपालिका–१ च्यामा गाउँलाई पर्यटकीय गन्तव्यका रुपका विकास गर्न थालिएको छ।
केही दिनअघि मात्रै वैजनाथको च्यामा गाउँ ‘नमूना थारु गाउँ’ घोषणा भएसँगै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न स्थानीय तहले समेत सहयोग गरेको वैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले जानकारी दिए। “यसको विकास र प्रवद्र्धनका लागि मापदण्ड र कार्यविधि बनाइरहेका छौँ र यो अन्तिम चरणमा छ”, उनले भने।
सो गाँउलाई पर्यटकीय गन्त्यका रुपमा विकास गर्न नमुना थारु गाउँ व्यवस्थापन समिति गठन भएको जानकारी दिँदै अध्यक्ष शाहीले तत्कालका लागि रु एक लाख अनुदान उपलब्ध गराइएको बताए। उनले व्यवस्थापन समितिको मागअनुसार लगानी बढाइने उल्लेख गर्दै थारु समुदायको सशक्तीकरण र उनीहरुलाई स्वरोजगार बनाउन पर्यटन प्रवर्द्धन आवश्यक रहेको धारणा व्यक्त गरे।
अध्यक्ष शाहीले भने, “थारु समुदायको मौलिक भाषा, संस्कृति, परम्परा तथा जीवनशैलीको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्य च्यामा गाउँमा राखिएको छ ।” सो गाउँमा २००५ सालदेखि करिब १०० घर परिवार थारु समुदाय बस्दै आएका छन्।
उनका अनुसार थारु समुदायको मौलिक पहिचान जोगाउँदै पर्यटनलाई प्रर्वद्धन गर्न र त्यसले आर्थिक समृद्धिमा टेवा पुर्याउने लक्ष्य राखिएको छ। पछिल्लो समय आधुनिकताका कारण लोप हुँदै गएका स्थानीय भाषा, वेशभूषा, संस्कार तथा परम्परागत जीवनशैलीको संरक्षणमा नमूना गाउँ मोडेलका रुपमा स्थापित हुने अध्यक्ष शाहीको भनाइ छ।
नमुना थारु गाउँ घोषणाले ठुलो सहयोग पुगेको उल्लेख गर्दै नमुना थारु गाउँ घोषणा समितिका अध्यक्ष मेघराज थारुले गाउँको पहिचासँगै आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने बताए।
गाउँमा थारु समुदायको परम्परागत घर, खानपान, नृत्य, कला र सांस्कृतिक गतिविधिलाई व्यवस्थित रूपमा संरक्षण गरिने उनको भनाइ छ। अध्यक्ष थारुले भने, “गाउँलाई सांस्कृतिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले स्थानीय रुपमा रोजगारी सिर्जना र घरेलु उत्पादनको प्रवर्द्धन हुनेछ ।”
जिल्लाको वैजानाथ गाउँपालिकामा रहेको बोटानिकल पार्क पनि अर्को पर्यटकीय गन्तव्य हो। त्यहाँ पर्यटन विकासका लागि तत्कालीन लुम्बिनी प्रदेश सरकारले लगानी गरे पनि अपेक्षा गरेअनुसारको प्रतिफल आउन सकेको छैन। यसबाहेक गाभर भ्यालीलाई पनि वैजनाथको पर्यटकीय गन्तव्यका रुपमा लिन सकिने स्थानीय बताउँछन् । रासस







