कैलाली । कैलालीको भजनी नगरपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिकाले विपद्को अवस्थामा नसर्ने रोगसम्बन्धी अत्यावश्यक प्रतिकार्य कार्यक्रम ‘पेन डी’लाई आगामी नीति तथा कार्यक्रममा समावेश गर्ने भएका छन् ।
रक्तचाप, मधुमेह, क्यान्सर, मुटु तथा श्वासप्रश्वाससम्बन्धी रोग बढ्दै गएपछि ती पालिकाले उपचार र जनचेतनाका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएका हुन् । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०१९ मा ७१ प्रतिशत मृत्युको कारण बनेको नसर्ने रोग सन् २०४० सम्ममा ७९ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।
बाढी र कटानको उच्च जोखिममा रहेका भजनी र लालझाडीमा ‘रिजिलियन्स एनसिडी’ परियोजना सञ्चालन भइरहेको छ । नोभो नोर्डिस्क फाउन्डेसनको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित परियोजनामा डेनिस रेडक्रस, क्यानेडियन रेडक्रस, आरहुस विश्वविद्यालय र नेपाल रेडक्रस सोसाइटीले सहकार्य गरिरहेका छन् ।
भजनी नगरप्रमुख केवल चौधरीले आगामी वर्षको नीति तथा कार्यक्रममा ‘पेन डी प्याकेज’ समावेश गरिने बताए । उनले नसर्ने रोग रोकथामलाई विपद्मा मात्र नभई नियमित स्वास्थ्य सेवाको भाग बनाउनुपर्ने बताए ।
लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाले पनि ‘पेन डी प्याकेज’लाई निरन्तरता दिने बताएका छन् । उनका अनुसार रेडक्रसले नसर्ने रोगका जोखिम र बच्ने उपायबारे समुदायस्तरमा सचेतना फैलाउने काम गरिरहेको छ ।
परियोजनाअन्तर्गत बाढीजन्य विपद्का समयमा नसर्ने रोगका बिरामीलाई सेवा कसरी निरन्तर दिने भन्ने विषयमा कृत्रिम घटना अभ्याससमेत गरिएको थियो । अभ्यासमा स्थानीय तह, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, रेडक्रस, सञ्चारकर्मी तथा समुदायस्तरका विपद् व्यवस्थापन समितिको सहभागिता रहेको थियो ।
भजनी नगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख विष्णुराज न्यौपानेका अनुसार अभ्यासका क्रममा दीर्घरोगीको तथ्यांक अद्यावधिक गर्ने, औषधि भण्डारण गर्ने तथा बाढीका बेला स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्ने विषयमा अभ्यास गरिएको थियो ।
लालझाडी गाउँपालिकाका विपद् शाखा प्रमुख हेमराज उपाध्यायले नसर्ने रोगका बिरामीका लागि नियमित औषधि सुरक्षित राख्ने र विपद्का बेला सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी आवश्यक रहेको बताए ।
स्वास्थ्य मन्त्रालयले हाल ‘पेन डी प्याकेज’लाई प्रमाणीकरण गर्ने प्रक्रिया अघि बढाइरहेको जनाएको छ । स्वास्थ्यकर्मी तथा सरोकारवालाले विपद्को समयमा नसर्ने रोगका बिरामीलाई प्राथमिकतामा राखेर स्वास्थ्य सेवा सञ्चालन गर्न स्थानीय तहबीच समन्वय आवश्यक रहेको बताएका छन् । रासस







