Khabar Out
सम्झौताको समय सकिएको एक वर्ष बित्दा पनि मुग्लिन–मलेखु सडकको काम ४८ प्रतिशत मात्रै

चितवन । पृथ्वी राजमार्गको नागढुङ्गा–मुग्लिन सडकखण्डको तेस्रो प्याकेजअन्तर्गत मुग्लिन–मलेखु सडकको सम्झौता अवधि सकिएको एक वर्ष पुग्दासमेत आधा काम हुन सकेको छैन ।

गत पुस १५ गते सम्पन्न गर्नेगरी तीन वर्षअघि अर्थात् २०७९ पुस १५ गते सडक विस्तारको ठेक्का लगाइएको थियो ।

दुई पटक म्याद थप गर्दासमेत हालसम्म भुक्तानी प्रगति ४६ प्रतिशत मात्र भएको छ । आयोजनाको तेस्रो प्याकेजका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार भौतिक प्रगति ४८ प्रतिशत हाराहारीमा भएको छ । उनका अनुसार पहिलोपटक थप गरिएको १८३ दिनको म्याद सकिएर पुनः दोस्रो पटक २१० दिन थप गरिएको छ । यो अवधिमा पनि काम नसकिने भएपछि म्याद थप्नुपर्ने भएको छ ।

करिब ९५ किलोमिटर दूरी रहेको उक्त राजमार्गलाई पहिलो प्याकेजमा नागढुङ्गा–नौबिसे, दोस्रोमा नौबिसे–मलेखु र तेस्रोमा मलेखु–मुग्लिन गरी खण्डमा छुट्याएर स्तरोन्नतिको काम अघि बढाइएको थियो । तेस्रो प्याकेजअन्तर्गतको नागढुङ्गा–मुग्लिन सडक ३८ दशमलव ८६ किलोमिटर लामो छ । मिश्रका अनुसार हालसम्म १५ किलोमिटर कालोपत्र सम्पन्न भएको छ । तीन किलोमिटर बेस राखेर कालोपत्रको तयारी गरिएको छ । अरू पाँच किलोमिटरमा सबबेस राखिएको छ ।

सो खण्डमा रहेका छवटा पुलमध्ये चारवटाको काम अन्तिम चरणमा पुगेको छ । बारवाङ, मौवा, गौमती र खटौती पुलको आंशिक काम मात्र बाँकी छ । ती पुल र सडक जोड्ने ठाउँमा कालोपत्र मात्र बाँकी रहेको उनले जानकारी दिए । अरू दुईवटा पुलको पिल्लरसम्मको काम सकिएको छ । ती दुई पुल हुग्दी र चरौदीको बिम र त्यसभन्दा माथिको काम बाँकी छ । भित्तो काट्ने काम कुरिनटार र मुग्लिनको बीचभागमा केही बाँकी छ । तीन किलोमिटर हाराहारी नाला बनाउन बाँकी छ । अरू सबै कालोपत्रको काम बाँकी रहेको छ ।

मिश्रका अनुसार सडक क्षेत्रमा रहेका घर, रुख र पोल स्थानान्तरणसहित नक्साङ्कनमा परिवर्तन हुँदा काममा ढिलाइ भएको हो । अब ती सबै समस्या समाधान भएकाले निर्माण कम्पनीका तर्फबाट तीव्र गतिमा काम हुने अपेक्षा गरिएको छ । यसअघि समय समयमा निर्माण सामग्री नपाउँदा समस्या हुने गरेको थियो । पछिल्लो समय बिटुमिनको अभावले पनि काममा ढिलाइ भएको उनले जानकारी दिए ।

निर्माण कम्पनीका सहदेव खड्काका अनुसार समयमा नक्सा नआउँदा काममा ढिलाइ भएको हो । उनका अनुसार नक्सा परिवर्तन भएर ठेक्का लागेको नौ महिनापछि मात्र निर्माण कम्पनीले पाएको थियो । यस्तै समय समयमा आएको बाढीपहिरोका कारण पुनः नक्सा परिवर्तन भएर आउनुपर्ने हुन्छ । नक्सासँगै बाढीपहिरो, सडकमा रहेका घरटहरा हटाउन, बिजुलीका पोल सार्न र रुख काट्न समय लागेकाले सम्झौताको मितिमा काम गर्न नसकिएको हो । उनले समयमा नक्सा प्राप्त भएर निर्माण सामग्री पाएमा अबको एक वर्ष छ महिनाभित्रमा काम सकिने बताए । खड्काका अनुसार यो सडकमा निर्माण सामग्रीको अभाव र अलकत्रा पाउन नसक्दा पनि काममा ढिलाइ भएको हो ।

कुल चार अर्ब ८० करोड ५९ लाख लागतमा काम सम्पन्न गर्ने प्रतिबद्धतासहित शर्मा–जेडआइसिजीले निर्माणको जिम्मा पाएको थियो । विश्व बैंकको सहुलियतपूर्ण ऋणमा अघि बढेको आयोजना राजधानी प्रवेश र बाहिरिने सवारीसाधनको उच्च चाप रहेको सडकखण्डमा पर्छ । उक्त सडक हुँदै दैनिक १५ हजार हाराहारी सवारीसाधन आवतजावत गर्ने अनुमान छ । सडक स्तरोन्नति भएसँगै राजधानी प्रवेश र बाहिरिने यात्रुले अहिले भोगिरहेको हैरानीबाट मुक्त हुने अपेक्षा गरिएको छ । रासस

प्रकाशित मिति: बिहीबार, मंसिर १०, २०८३  २०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update