सियोल । दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङ र जापानका प्रधानमन्त्री साने ताकाइचीबीच मङ्गलबार हुने शिखर वार्तालाई पूर्वी एसियाली कूटनीतिमा नयाँ मोडका रूपमा हेरिएको छ ।
भूराजनीतिक तनाव, विश्व अर्थतन्त्रमा बढ्दो अनिश्चितता र अमेरिका–चीन प्रतिस्पर्धाबीच हुन लागेको यो भेटले दुई देशबीचको सहकार्यलाई अझ गहिरो बनाउने अपेक्षा गरिएको छ ।
करिब छ महिनाको अवधिमा दुई नेताबीच हुन लागेको यो चौथो भेट हो । यसपटक राष्ट्रपति लीले आफ्नो गृहनगर अन्डोङमा जापानी प्रधानमन्त्री ताकाइचीको स्वागत गर्ने कार्यक्रम तय भएको छ । दक्षिणपूर्वी दक्षिण कोरियामा रहेको अन्डोङ परम्परागत लोक गाउँका कारण प्रसिद्ध छ र युनेस्को विश्व सम्पदा सूचीमा समेत सूचीकृत छ । यसअघि गत जनवरीमा दुवै नेताले जापानको प्राचीन राजधानी नारा सहरमा भेटवार्ता गरेका थिए, जुन ताकाइचीको गृहनगर हो ।
दुई देशका वर्तमान नेताले एकअर्काको गृहनगर भ्रमण गरेको यो पहिलो अवसर भएकाले पनि यो भेटलाई प्रतीकात्मक रूपमा महत्वपूर्ण मानिएको छ । दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले शिखर सम्मेलनले दुई नेताबीचको व्यक्तिगत विश्वास र राजनीतिक समझदारीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ ।
प्रधानमन्त्री ताकाइचीले मङ्गलबार बिहान पत्रकारहरूसँग कुरा गर्दै मध्यपूर्व र हिन्द–प्रशान्त क्षेत्रमा विकसित भइरहेका जटिल भूराजनीतिक अवस्थाबीच दक्षिण कोरिया र जापानबीचको सहकार्य अझ सुदृढ हुनुपर्ने बताइन् । उनले ऊर्जा, अर्थतन्त्र, क्षेत्रीय सुरक्षा र आपूर्ति शृङ्खला जस्ता विषयमा दुवै देशको साझेदारी अत्यन्त आवश्यक रहेको धारणा राखिन् ।
शिखर सम्मेलनको औपचारिक एजेन्डामा आर्थिक तथा ऊर्जा सहकार्य, इरान युद्धको प्रभाव, आपूर्ति शृङ्खला सुरक्षा तथा द्विपक्षीय सम्बन्धको दीर्घकालीन विकासका विषय समेटिएका छन् । हाल दुई देशबीच कुनै गम्भीर विवाद सतहमा नरहेको भन्दै विश्लेषकहरूले वार्ता सकारात्मक वातावरणमा अघि बढ्ने अनुमान गरेका छन् ।
सियोलस्थित आसन इन्स्टिच्युट फर पोलिसी स्टडीजकी जापान विशेषज्ञ चोई युनमीका अनुसार दक्षिण कोरिया र जापानले अहिले विवादभन्दा सहकार्यलाई प्राथमिकतामा राखेका छन् । उनका अनुसार विगतजस्तै निरन्तर उतारचढावपूर्ण सम्बन्ध दुवै देशका लागि अब उपयोगी नहुने निष्कर्षमा नेतृत्व पुगेको छ ।
दक्षिण कोरिया र जापान दुवै अमेरिकाका प्रमुख सहयोगी राष्ट्र हुन् । तर दोस्रो विश्वयुद्धअघि कोरियाली प्रायद्वीपमाथि जापानले गरेको ३५ वर्षे औपनिवेशिक शासनका कारण दुई देशबीच लामो समयसम्म अविश्वास र तनाव कायम रहँदै आएको थियो । विशेषगरी जबरजस्ती श्रम, यौन दासता र ऐतिहासिक स्मृतिसँग जोडिएका विषयले सम्बन्धलाई पटक–पटक असहज बनाउँदै आएका छन् ।
सन् २०२३ पछि भने दुवै देशका तत्कालीन नेतृत्वले इतिहासजन्य विवादलाई पछाडि पार्दै सुरक्षा र आर्थिक सहकार्यलाई प्राथमिकतामा राख्ने नीति अपनाएका थिए । अमेरिका–चीन रणनीतिक प्रतिस्पर्धा, उत्तर कोरियाको आणविक कार्यक्रम, विश्वव्यापी आपूर्ति शृङ्खला सङ्कट र आर्थिक अस्थिरतालाई साझा चुनौतीका रूपमा लिएपछि सियोल र टोकियोबीच सम्बन्ध सुधार हुन थालेको विश्लेषण गरिएको छ ।
गत वर्ष ली र ताकाइची नयाँ नेताका रूपमा उदाएपछि प्रारम्भमा केही चिन्ता देखिएको थियो । दक्षिणपन्थी सुरक्षा धारका नेताका रूपमा चिनिने ताकाइची र राजनीतिक रूपमा उदार मानिने लीबीच विदेश नीतिमा दूरी आउन सक्ने अनुमान गरिएको थियो । ली चीन र उत्तर कोरियातर्फ झुक्न सक्ने तथा जापान र अमेरिकासँग दूरी बढ्न सक्ने अड्कलबाजी पनि गरिएको थियो । तर व्यवहारमा भने दुवै नेताले सहकार्यलाई निरन्तरता दिएका छन् । रासस







