काठमाडाैँ। शक्तिशाली एल निनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रमा गत सेप्टेम्बरमा समुद्री सतहको तापक्रम अहिलेसम्मकै उच्च विन्दुमा पुगेको युरोपेली सङ्घ (इयु) को जलवायु अनुगमन सेवाले जनाएको छ। यसले सन् २०२७ मा विश्वव्यापी तापक्रमले नयाँ रेकर्ड कायम गर्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्।
इयुको कोपर्निकस जलवायु परिवर्तन सेवाका अनुसार ‘निनो ३.४’ क्षेत्रमा समुद्री सतहको तापक्रम २९.७० डिग्री सेल्सियस पुगेको थियो । यो सन् १९८२–१९८३, १९९७–१९९८ र २०१५–२०१६ का शक्तिशाली एल निनो घटनाका बेला मापन गरिएको तापक्रमभन्दा बढी हो। यद्यपि, जलवायु परिवर्तनका कारण समुद्रको तापक्रम पहिल्यै बढेकाले हालको एल निनो अहिलेसम्मकै शक्तिशाली भएको निष्कर्ष निकाल्न नसकिने कोपर्निकसले जनाएको छ।
गत सेप्टेम्बरमा विश्वव्यापी समुद्री सतहको औसत तापक्रम २१.०५ डिग्री सेल्सियस पुगेको थियो। त्यस्तै, विश्वको औसत सतही तापक्रम १६.२७ डिग्री सेल्सियस रह्यो। यो पूर्वऔद्योगिक औसतभन्दा १.६३ डिग्री बढी हो।
कोपर्निकसका निर्देशक कार्लो बुन्टेम्पोले शक्तिशाली एल निनोका कारण सन् २०२७ सम्म पनि मासिक तापक्रम पूर्वऔद्योगिक स्तरभन्दा १.५ डिग्री सेल्सियसभन्दा माथि रहने सम्भावना रहेको बताए। तापक्रम वृद्धि नियन्त्रण गर्न जीवाश्म इन्धनबाट हुने हरितगृह ग्यास उत्सर्जन घटाउनु महत्त्वपूर्ण रहेको वैज्ञानिकहरूको भनाइ छ।
एल निनो प्राकृतिक जलवायु चक्रको तापक्रम बढाउने चरण हो। यसले प्रशान्त महासागरको सतहको तापक्रम बढाएर विश्वव्यापी हावा र वर्षाको ढाँचामा परिवर्तन ल्याउँछ र यसले विभिन्न क्षेत्रमा खडेरी र बाढीको जोखिम बढाउन सक्छ। यो सामान्यतया प्रत्येक दुईदेखि सात वर्षमा देखा पर्छ र नौदेखि १२ महिनासम्म रहन्छ । रासस







