Khabar Out
अवैध रुपमा गिट्टी बालुवा उत्खनन गर्नेलाई कारबाही गरिने

जुम्ला । जिल्ला प्रशासन कार्यालयले नदीमा अवैध रुपमा गिट्टी, बालुवा उत्खनन् गर्नेलाई कानुनी कारबाही गर्ने भएको छ ।

प्रशासनको आयोजनामा सोमबार भएको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना र विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले विशेषगरी तिला र हिमा नदीमा अवैध रुपमा नदीजन्य र खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकाल्ने काम भइरहेको बताए। जिल्लामा हुने विपद्को बैठकमा पटकपटक अवैध रुपमा सञ्चालन भएका क्रसर उद्योगलाई बन्द गर्न निर्देशन दिए पनि सुनुवाइ नभएको उल्लेख गर्दै उनले विनादर्ता र अनुमतिविना सञ्चालित क्रसर उद्योगलाई बन्द गरिने बताए ।

नदीजन्य तथा खानीजन्य पदार्थ उत्खनन गर्ने उद्योग बन्द नगरी अटेर गरेमा कानुनबमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी पौडलेको भनाइ छ ।

जिल्लामा सञ्चालित कतिपय विकास निर्माणका आयोजनाले काम सकिएपछि पनि क्रसर उद्योग चलाएर गिट्टी, बालुवा बिक्री गर्दै आएको नागरिक समाजका संयोजक राजबहादुर महतले बताए । नदीनालाबाट जबर्जस्ती ढुङ्गा, गिट्टी, बालुवा उत्खननले भविष्यमा ठूलो विपद्को समस्या खडा गर्न जिल्ला समन्वय समितिका समन्वय अधिकारी रोमबहादुर महतले जानकारी दिए ।

स्थानीय सरकारको आफ्नो प्रमुख आन्तरिक राजस्व सङ्कलनमा वृद्धि गर्न जथभावी उत्खनन गरेका नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवालाई कानुन दायरमा ल्याइने चन्दननाथ नगरपालिका प्रमुख राजुसिंह कठायतले बताए । विपद्का बेला समयमै प्रतिकार्य योजना निर्माण गरी विपद् व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउन आवश्यक रहेको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताए ।

क्रसर उद्योगको मापदण्ड र उत्खननलाई व्यवस्थापन गर्नुपर्ने कार्यक्रमका सहभागीको भनाइ छ । नदीका किनारमा रहेका अधिकांश उद्योग अवैध रुपमा सञ्चालन हुने गरेको जनगुनासो व्यापक आउने गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।रासस

प्रकाशित मिति: मंगलबार, जेठ ५, २०८३  ०८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update