Khabar Out
सोमालियामा गहिरिँदो मानवीय सङ्कट, तत्काल विश्वव्यापी सहयोगको अपिल

काठमाडाैँ। सोमालियामा गम्भीर खाद्य सङ्कट गहिरिँदै गएको भन्दै संयुक्त राष्ट्रसङ्घअन्तर्गतका विभिन्न मानवीय एजेन्सीहरूले तत्काल सहायता विस्तार गर्न विश्व समुदायसँग आग्रह गरेका छन्।

खाद्य तथा कृषि सङ्गठन, मानवीय सहायता समन्वय कार्यालय, बाल कोष तथा विश्व खाद्य कार्यक्रमले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार सोमालियामा अहिले करिब ६० लाख मानिस गम्भीर खाद्य असुरक्षाबाट प्रभावित छन्, जुन देशको कुल जनसङ्ख्याको झण्डै एक–तिहाइ हो। तीमध्ये १९ लाख बालबालिका प्रत्यक्ष रूपमा प्रभावित भएका छन् भने करिब ४ लाख ९३ हजार बालबालिका अत्यन्त गम्भीर कुपोषणको अवस्थामा पुगेका छन्।

लामो समयदेखिको खडेरी, आन्तरिक असुरक्षा, अत्यन्त सीमित मानवीय सहायता तथा मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वको अप्रत्यक्ष असरका कारण अवस्था झन् खराब बन्दै गएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । विशेषगरी दक्षिणपश्चिमी राज्यको बुरहाकाबा क्षेत्रमा सन् २०२२ पछिकै पहिलोपटक अनिकालको जोखिम देखिएको चेतावनी दिइएको छ ।

सन् २०२२ मा ठूलो मात्रामा अन्तर्राष्ट्रिय मानवीय सहायता परिचालन गरिएकाले सम्भावित अनिकाल टार्न सफल भएको स्मरण गराउँदै संयुक्त राष्ट्रसङ्घले अहिले पनि तत्काल र व्यापक सहयोग आवश्यक रहेको जनाएको छ । हाल जोखिमयुक्त क्षेत्रमा सहायता विस्तार गर्ने प्रयास भइरहे पनि स्रोत र बजेट अभावका कारण देशभरका करिब ९० प्रतिशत प्रभावित मानिसले पर्याप्त सहयोग पाउन नसकेको बताइएको छ ।

संयुक्त राष्ट्रसङ्घका मानवीय संयोजक जर्ज कन्वेले आगामी केही हप्ता अत्यन्त संवेदनशील रहेको उल्लेख गर्दै समयमै प्रभावकारी सहायता नपुगे सोमालियामा ठूलो मानवीय विपत्ति आउन सक्ने चेतावनी दिए । रासस

प्रकाशित मिति: शनिबार, जेठ २, २०८३  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update