Khabar Out
यान्त्रिक अवस्था ठीक नभएका १७ सवारी साधनका चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षालाई प्रभावकारी बनाउन ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष चेकिङ अभियानअन्तर्गत यान्त्रिक अवस्था कमजोर रहेका १७ वटा सवारीसाधनका चालक कारबाहीमा परेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) प्रवेशद्वारम क्षेत्रमा विशेष सवारी जाँच अभियान सञ्चालन गरेको थियो । सो अभियानका क्रममा ४७ वटा सवारी साधनको प्राविधिक तथा यान्त्रिक अवस्था परीक्षण गर्दा १७ वटा सवारीसाधन मापदण्डअनुसार नरहेको पाइएपछि चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

उपत्यका ट्राफिक प्रहरीका अनुसार जाँचका क्रममा कतिपय सवारीसाधनमा ह्याण्डब्रेक दुरुस्त नभएको, लाइट बिग्रिएको, टायर अत्यधिक खिइएको तथा अन्य प्राविधिक समस्या देखिएको थियो । यस्ता कमजोरी भएका सवारीसाधन सडकमा सञ्चालन हुँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले तत्काल कारबाही गरिएको जनाइएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले यान्त्रिक रूपमा कमजोर सवारीसाधन सडक सुरक्षाका लागि गम्भीर चुनौती बन्दै गएको बताए । उनले यात्रु, चालक तथा सडक प्रयोगकर्ताको सुरक्षालाई प्राथमिकतामा राखेर नियमित रूपमा विशेष चेकिङ अभियान सञ्चालन भइरहेको जानकारी दिए ।

उनले भने, “सवारीसाधनको सामान्य लापरवाहीले पनि ठूलो दुर्घटना निम्त्याउन सक्छ । त्यसैले यान्त्रिक अवस्था कमजोर भएका सवारी साधनमाथि निगरानी बढाइएको हो । आजको अभियानमा १७ वटा सवारी साधनका चालकलाई कारबाही गरिएको छ । हाम्रो उद्देश्य केबल जरिवाना गर्नु मात्रै होइन, सम्भावित दुर्घटना रोक्नु र जनताको जीवन सुरक्षा गर्नु पनि हो ।”

ट्राफिक प्रहरीका अनुसार पछिल्लो समय सडक दुर्घटनाका घटनामध्ये धेरै दुर्घटना सवारी साधनको प्राविधिक खराबीकै कारण हुने गरेको पाइएको छ । विशेषगरी लामो समयसम्म मर्मत नगरी चलाइएका सार्वजनिक तथा निजी सवारी साधनले सडकमा जोखिम बढाइरहेको ट्राफिक प्रहरीको भनाइ छ ।

ट्राफिक प्रहरीले सवारी धनी, यातायात व्यवसायी तथा चालकलाई नियमित रूपमा सवारीसाधनको ब्रेक, टायर, लाइट, इन्जिन तथा अन्य उपकरणको अवस्था परीक्षण गर्न आग्रह गरेको छ । आवश्यक मर्मत तथा प्राविधिक परीक्षण नगरी सवारी सञ्चालन नगर्न पनि चेतावनी दिइएको छ ।

कार्यालयले आगामी दिनमा पनि उपत्यकाका विभिन्न स्थानमा यस्ता विशेष चेकिङ अभियानलाई निरन्तरता दिइने जनाएको छ । सडक अनुशासन कायम गर्दै सुरक्षित यात्रा सुनिश्चित गर्न ट्राफिक प्रहरी सक्रिय रूपमा परिचालन भइरहेको कार्यालयले जनाएको छ। रासस

 

प्रकाशित मिति: शुक्रबार, जेठ १, २०८३  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update