महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका दुई वटा पालिकामा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएका छन्।
क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत एसियाली विकास बैंक (एडीबी) को सहयोगमा कैलालीको अत्तरिया र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आइसकेका हुन्।
सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीका प्रमुख तुलसीराम खर्वुजाका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकामा रहेको फोहरमैला व्यवस्थापन केन्द्र पनि शीघ्र सञ्चालनमा आउने तयारीमा छ। धनगढी उपमहानगरपालिका–७ पटेलामा निर्माण भएको यो केन्द्र निर्माण पक्षले समयमै सम्पन्न गरे पनि ‘भेरियसन अर्डर’ (भिओ) को प्रक्रियामा रहेकाले सञ्चालनमा केही ढिलाइ भएको हो। करिब १ अर्ब ९ करोड लागत अनुमान रहेको यो केन्द्रले ३० वर्षसम्म धनगढीको फोहर व्यवस्थापन गर्न सक्ने क्षमता राख्छ।
खर्वुजाले सञ्चालन प्रक्रियाबारे जानकारी दिँदै भने, ‘भिओको लागि माथिल्लो निकायमा पेस गरेका छौँ। फोहरमैला व्यवस्थापनका लागि आवश्यक सवारीसाधन र स्टिमेटमा नभएको विषयको निर्माणमा पालिकाले माग गरेपछि भेरियसन अर्डर अघि बढाइएको हो।’ उनका अनुसार निर्माण सम्पन्न भएका यी केन्द्रहरू सुरुका तीन वर्षसम्म निर्माण कम्पनी आफैँले सञ्चालन गर्नुपर्ने हुन्छ र त्यसपछि मात्र सम्बन्धित पालिकालाई हस्तान्तरण गरिनेछ ।
कैलालीको अत्तरियामा करिब १० महिनाअघि र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गत भदौदेखि नै व्यवस्थापन केन्द्र सञ्चालनमा आइसकेका छन् । शुक्लाफाँटा नगरपालिका–११ स्थित श्रीकृष्ण सामुदायिक वन क्षेत्रमा ३० करोड २५ लाखको लगानीमा यो केन्द्र निर्माण गरिएको हो । शुक्लाफाँटा नगरपालिकाका इन्जिनियर लोकेन्द्र भट्टले फोहरमैला व्यवस्थापनको काम प्रभावकारी रूपमा भइरहेको र सहरी वडाहरूमा प्रत्येक दिन फोहर सङ्कलन गरी केन्द्रमा लैजाने गरिएको बताए ।
यी केन्द्रहरूमा फोहरलाई पुनः प्रयोग हुने, कुहिने र प्रयोगविहीन गरी तीन तरिकाले छुट्टयाएर व्यवस्थापन गर्ने प्रविधि जडान गरिएको छ । धनगढीमा २२ हेक्टर, शुक्लाफाँटामा ५ बिघा र अत्तरियामा ५ हेक्टर क्षेत्रफलमा यी केन्द्रहरू फैलिएका छन्। सुदूरपश्चिमका चार पालिका छनोट भए पनि कञ्चनपुरको भीमदत्त नगरपालिकाले जग्गा उपलब्ध गराउन नसक्दा त्यहाँ भने केन्द्र निर्माण हुन सकेन । केन्द्रहरू सञ्चालनमा आएपछि सुदूरपश्चिमका प्रमुख सहरहरूको सरसफाइ र फोहर व्यवस्थापनमा ठूलो सुधार आउने अपेक्षा गरिएको छ । रासस







