Khabar Out
गर्मी याम सुरु,  रोकिएन हिउँ पर्न

मुस्ताङ । हाल मुस्ताङ भ्रमण गर्ने सबैभन्दा अनुकूल याम चलिरहेको छ ।  हिउँदयामको चिसो र हिउँ पर्ने समय टरिसकेकाले यस यामलाई मुस्ताङ भ्रमणको अनुकूल याम मानिन्छ । 

हिउँदयाम सकिएर गर्मीयाम सुरु भइसके पनि यहाँ अझै हिउँ पर्ने क्रम भने रोकिएको छैन ।

बुधबार यहाँको वारागुङ मुक्तिक्षेत्रमा आंशिक हिउँ परेको छ, जसकारण चिसो बढेको छ । मुक्तिनाथस्थित हाई अल्टिच्युड ट्रिटमेन्ट सेन्टरमा कार्यरत स्वास्थ्यकर्मी सरोज घर्तीले बुधबार मुक्तिनाथ क्षेत्रमा करिब एक घण्टाभन्दा बढी समयसम्म हिउँ परेको बताए । हिउँ परेसँगै आसपासका नाँगा डाँडाकाँडा फेरि हिउँले सेताम्मे भएको उनको भनाइ छ ।

गर्मीयाम सुरु भइसक्दा पनि मुक्तिनाथमा  हिमपातले दर्शनार्थी भक्तजनलाई मुक्तिनाथ यात्रामा असजह भएको स्वास्थ्यकर्मी घर्तीले उल्लेख गरे । मुक्तिनाथ क्षेत्रमा योसँगै यस वर्ष आठौँ पटक हिमपात भएको छ । 

यसलाई स्थानीय जानकारले जलवायु परिवर्तनको प्रभावका रूपमा विश्लेषण गरेका छन् । वसन्त ऋतुको समयमा पालुवा पलाएर मौसम पनि गुल्जार हुने समयमा मौसम प्रतिकूल बन्नु र हिउँ पर्नु यहाँका लागि राम्रो नभएको वारागुङ मुक्तिक्षेत्र—१ का वडाध्यक्ष प्रमेश गुरुङले बताए । 

वारागुङ मुक्तिक्षेत्र–१ अन्तर्गत खिंगा, झारकोट, लुप्रा र पुराङ रानीपौवालगायत गाउँमा हिउँदयामको बिदाइ र बर्खायामलाई स्वागत गर्दै ‘धछ्याङ’ पर्व मनाइसकिएको छ । 

बेमौसमी हिमपातले अन्नबाली र विशेष गरी स्याउका फूलहरू नष्ट गर्ने चिन्ता बढेको वडाध्यक्ष गुरुङले बताए ।  

यस वर्षको हिउँदयाममा यहाँ पटक पटक हिउँ परे पनि वैशाख महिनामा हिउँ पर्नु अनौठो भएको वारागुङ—१ का खिंगा गाउँका मुखिया ल्हाक्पाटसी गुरुङले उल्लेख गरे । 

हिउँदयाममा परेको हिउँ कृषकका लागि फाइदाजनक भए पनि बेमौसमी हिमपातले कृषि र पर्यटन क्षेत्रलाई असर पुर्‍याउने उनले बताए । रासस

 

प्रकाशित मिति: बिहीबार, वैशाख २४, २०८३  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update