सङ्खुवासभा । सङ्खुवासभाको उत्तरी क्षेत्र जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको खाँदबारी–किमाथाङ्का सडकखण्ड नेपाली सेनाले सम्पन्न गरेको छ । भौगोलिक रूपमा विकट मानिएको उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्काको साढे १० किलोमिटर सडक आयोजनाको ‘ट्र्याक ओपन’ र स्तरोन्नति काम सम्पन्न भएको हो ।
नेपाली सेनाले जिम्मेवारी पाएको उक्त सडक चैत मसान्तमा तोकिएको समयमै सम्पन्न गरिएको आयोजना प्रमुख शमशेर सिंहले जानकारी दिए । खाँदबारी– किमाथाङ्का सडकखण्डको १६२ किलोमिटरमध्ये साढे १० किलोमिटर सडक निर्माणको जिम्मा सेनाले पाएको थियो । कडा चट्टान र भौगोलिक विकटता भएका कारण सेनाले हेलिकप्टरमार्फत निर्माण सामग्री ढुवानी गरेर सडक निर्माणको काम गरेको उनले बताए ।
सडक निर्माण सम्पन्न गरेसँगै सेनाले केही दिनमा उत्तर दक्षिण कोशी सडक आयोजनालाई हस्तान्तरण गर्ने गरी कुरा भएको आयोजना प्रमुख सिंहले बताए ।
उत्तरी क्षेत्रमा पर्ने किमाथाङ्का नाका भौगोलिक हिसाबले दुर्गम क्षेत्र मानिन्छ । यहाँको किमाथाङ्का–जोगबनी खण्ड छिमेकी देश चीन–भारत जोड्ने सबैभन्दा छोटो सडकका रूपमा मानिन्छ । कडा चट्टान फोर्न विस्फोटक पदार्थ आवश्यक पर्ने भएकाले २०७६ साल भदौ २२ गतेको मन्त्रिपरिषद् बैठकले सेनालाई निर्माणको जिम्मेवारी दिएको थियो ।
किमाथाङ्का हुँदै चीन जोड्ने कोशी राजमार्गअन्तर्गतको खाँदबारीदेखि किमाथाङ्का सडक गत २०८१ माघ १४ गते ‘ब्रेक थ्रू’समेत भइसकेको छ । खाँदबारी–किमाथाङ्का सडकमा गत वर्षसम्म छ किलोमिटर सडक स्तरोन्नति गरिसकिएको छ ।
किमाथाङ्का–जोगबनी सडकखण्ड सञ्चालन भएपछि कोशी प्रदेशका सङ्खुवासभा, धनकुटा, तेह्रथुम, सुनसरी, मोरङ, झापा र भोजपुरवासी प्रत्यक्ष लाभान्वित हुनेछन् । खाँदबारी–किमाथाङ्का सडक निर्माणमा हालसम्म रु ६२ करोड ३६ लाख ६७ हजार खर्च भइसकेको आयोजना कार्यालयले जनाएको छ । रासस







