Khabar Out
पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छ : अध्यक्ष शर्मा

काठमाडौँ । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारविरुद्ध भएका अपराधमा दण्डहीनता, सञ्चारमाध्यमको आर्थिक अवस्थामा गिरावट, पत्रकारको पेसागत र भौतिक सुरक्षामा जोखिमजस्ता कारणले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बन्दै गएको बताएकी छिन् ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज सम्पूर्ण श्रमजीवी पत्रकार, व्यावसायिक सञ्चारगृहहरू तथा विचार र अभिव्यक्ति स्वतन्त्रता पक्षधर जनसमुदायमा शुभकामना व्यक्त गर्दै सो कुरा बताएकी हुन् ।

उनले भनेकी छिन्, “विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा महासङ्घ सम्पूर्ण सञ्चारकर्मी, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरमा पुनःएकपटक शुभकामना व्यक्त गर्दछ, प्रेस स्वतन्त्रता पेचिलो बन्दै गएको अहिलेको अवस्थमा मुलुकका विभिन्न पेसागत सङ्गठन र नागरिक अगुवासँग अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि महासङ्घ ऐक्यबद्धताको अपेक्षा गर्दछ ।”

इतिहासदेखि नै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि राज्यका कुनै अङ्ग, तह वा अरू कुनै सङ्गठित र असङ्गठित क्षेत्रबाट सङ्कुचन वा नियन्त्रण गर्ने प्रयास भए पनि प्रेस जगतले सशक्त प्रतिवाद गर्दै आएको उनको भनाइ छ ।

शुभकामना सन्देशमा भनिएको छ, “अब पनि त्यस्तो प्रतिवाद गर्नुपर्ने अवस्था आइलाग्छ भन्नेमा महासङ्घ स्पष्ट छ, लोकतान्त्रिक संविधान लागू भएको दशक बितिसक्दा पनि मुलुकमा प्रेस स्वतन्त्रता हननका घटना बढ्दो क्रममा रहेको देखिनु हाम्रा लागि गम्भीर चिन्ताको विषय हो ।”

विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने क्रमको सुरुआत सन् १९९१ मा नामिबियाको विन्डहोकमा आयोजित युनेस्कोको सेमिनारबाट भएको हो । उक्त सेमिनारले ‘विन्डहोक घोषणापत्र’ जारी गरेको थियो । यही घोषणापत्रको स्मरण गर्दै सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घको महासभाले युनेस्कोको सिफारिसमा मे ३ लाई ‘विश्व प्रेस स्वतन्त्रता दिवस’ का रूपमा मनाउने निर्णय गरेको हो । त्यसयता, हरेक वर्ष मे ३ का दिन प्रेस स्वतन्त्रताको रक्षा र प्रवद्र्धन गर्ने उद्देश्यले यो दिवस विश्वभर मनाउने गरिन्छ।

यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवसको नारा ‘शान्तिपूर्ण भविष्यको निर्माणः मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रता प्रवद्र्धन’ रहेको छ । युनेस्कोले यस वर्षको कार्यक्रम जाम्बियाको लुसाकामा मे ४ र ५ का दिन विभिन्न कार्यक्रम गरी मनाउँदै छ ।

अन्तरराष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे) ले ४ मे देखि ७ मे सम्म पेरिसमा हुने महाधिवेशनमा विश्वका पत्रकारहरु सहभागी हुने सम्मेलनमा यो दिवस मनाउँदै छ । पछिल्लो समय सरकारले गरेको सरकारी विज्ञापनमा विभेदपूर्ण व्यवहार, लोककल्याणकारी विज्ञापनको सङ्कुचन र अभिव्यक्ति स्वतन्त्रता माथिकै अङ्कुशका प्रक्रियाहरू हुन भन्ने अध्यक्ष शर्माको बुझाइ छ । रासस

प्रकाशित मिति: आइतबार, वैशाख २०, २०८३  ०९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update