काठमाडौं । नेपाल जन–जी फ्रन्टले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालित डोजर अभियानका क्रममा उत्पन्न घटनाप्रति गम्भीर आपत्ति जनाउँदै निष्पक्ष छानबिन र जिम्मेवार पक्षमाथि कारबाहीको माग गरेको छ।
संस्थाद्वारा जारी प्रेस वक्तव्यमा थापाथली, मनोहरा, सिनामंगल लगायतका सुकुमबासी बस्तीमा डोजर चलाउँदा भएको मानवीय क्षतिप्रति ध्यानाकर्षण गराइएको छ। वक्तव्यमा उक्त अभियानलाई अमानवीय, असंवैधानिक र जनविरोधी कार्यको संज्ञा दिँदै यसले नागरिकको आधारभूत अधिकारमाथि प्रहार गरेको उल्लेख गरिएको छ।
फ्रन्टले विशेषगरी काठमाडौंको बल्खुस्थित सुकुमबासी बस्तीमा बसोबास गर्दै आएका इन्द्रबहादुर राईको मृत्यु घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यसले राज्य संयन्त्रको भूमिकामाथि गम्भीर प्रश्न उठाएको जनाएको छ। मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना प्रकट गरिएको छ।
वक्तव्यमा सरकारसँग चार बुँदे माग अघि सारिएको छ। जसमा प्रधानमन्त्री वालेन्द्र साहलाई आत्महत्या दुरुत्साहन सम्बन्धी आरोपमा पक्राउ गरी निष्पक्ष छानबिन गर्नुपर्ने, डोजर अभियान तुरुन्त रोक्नुपर्ने, प्रभावित सुकुमबासी परिवारलाई सुरक्षित तथा सम्मानजनक वैकल्पिक आवासको व्यवस्था गर्नुपर्ने तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ।
फ्रन्टले बिना पुनर्वास कुनै पनि बस्ती हटाउने नीति स्वीकार्य नहुने स्पष्ट पार्दै नागरिकको आवासको हक, खाद्य अधिकार तथा सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ। साथै, राज्यले बल प्रयोग गरेर नागरिकलाई विस्थापित गर्ने अभ्यास आधुनिक समाजमा अस्वीकार्य हुने चेतावनी पनि दिएको छ।
नेपाल जन–जी फ्रन्टले घटनाको नैतिक तथा कानुनी जिम्मेवारी राज्यले लिनुपर्ने भन्दै पारदर्शी र उत्तरदायी शासनको माग दोहोर्याएको छ।







