Khabar Out
संवैधानिक प्रबन्धले मूर्तरूप लिँदै जानेमा राष्ट्रपति पौडेलको विश्वास

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्न परिकल्पना गरिएको संवैधानिक प्रबन्धले मूर्तरूप लिँदै जाने विश्वास व्यक्त गरेका छन् । 

विश्व मजदुर दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले श्रम अधिकार सुनिश्चितताको कामना गरेका छन्।

“मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकासमार्फत स्वदेशी उत्पादन वृद्धि गरी स्वदेशी उत्पादनको प्रयोगमा जोड दिँदै स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न आवश्यक छ,” उनले भनेका छन्, “उद्यमशीलताको विकास गर्न पुँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिकहरू दुवैको योगदान उत्तिकै महत्त्वपूर्ण हुने भएकाले मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्नुपर्छ ।” 

श्रमिकहरूको पेसागत मर्यादा र सम्मान अभिवृद्धि गर्न उनीहरूको हक, अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ मा यो दिवस मनाउने गरिन्छ । यस दिवसले विश्वभरिका सम्पूर्ण श्रमजीवीहरूलाई आफ्नो हक, हित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने राष्ट्रपति पौडेलको भनाइ छ । रासस

प्रकाशित मिति: शुक्रबार, वैशाख १८, २०८३  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update