काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष चेकिङ अभियानका क्रममा यान्त्रिक अवस्था ठिक नभएका १६ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
आज काठमाडौंको एयरपोर्टस्थित सडक खण्डमा गरिएको चेकिङका क्रममा ५१ वटा सवारीसाधन जाँच गरिएको थियो । तीमध्ये हेण्डब्रेक दुरुस्त नभएका, लाइट बिग्रिएका, टायर अत्यधिक खिइएका तथा समग्र अवस्था कमजोर रहेका १६ सवारीसाधनका चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
सवारीसाधनको यान्त्रिक अवस्था कमजोर हुँदा दुर्घटनाको जोखिम बढ्ने र यात्रु तथा सडक प्रयोगकर्ताको जीवनमा खतरा उत्पन्न हुन सक्ने भएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न यस्तो अभियान सञ्चालन गरिएको जनाइएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले नियमित रूपमा सवारीसाधनको अवस्था जाँच गरी आवश्यक मर्मतसम्भार गरेर मात्रै सञ्चालन गर्न सबै यातायात व्यवसायी, सवारीधनी तथा चालकलाई आग्रह गरेका छन् ।






