Khabar Out
प्राथमिक उपचार तालिम : विपद् व्यवस्थापनमा सहयोग

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आर्थिक तथा नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखाको प्राविधिक सहयोगमा सञ्चालित प्राथमिक उपचार तालिम प्रभावकारी बनेको छ ।

यसका लागि महानगरपालिका र सोसाइटीबीचमा सम्झौता समेत भएको छ । हालसम्म ६ वडाका १५१ जनालाई प्राथमिक उपचार तालिम प्रदान गरिएको छ । लाभान्वित हुनेमा ११४ महिला र ३७ पुरुष रहेका छन् । नेपाल रेडक्रस सोसाइटी काठमाडौँका सभापति श्यामकाजी डोटेलले प्राथमिक उपचार प्रदान गरेमा विपद्को बेलामा हुनसक्ने घटनामा उद्दार र प्राथमिक उपचार प्रदान गर्न सहज हुने बताए । टोलमा युवाहरुको सङ्ख्या घट्दै गएको बेलामा महिलाले यस्ता तालिम लिँदा वृद्धवृद्धालाई सहयोग पुग्ने उनको भनाइ छ ।

काठमाडौँ महानगरपालिका महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका फोकल पर्सन ऋषिप्रसाद भुषालले यस्ता तालिम आपत्काल व्यवस्थापनका लागि उपयोगी हुने जानकारी दिए । उक्त तालिमलाई महानगरभित्रका ३२ वडामै प्रदान गरिने महानगरले जनाएको छ ।

यसरी लिएको तालिमबाट प्राप्त गरेको प्रमाणपत्र नेपालसहित १९२ देशमा मान्य हुनेछ । तालिममा दुर्घटना, चोटपटक वा स्वास्थ्यजन्य आपत्कालीन परिपस्थितिमा आफू नजिक रहेका साधन तथा वस्तुको उपयोग अवस्था बिग्रिन नदिने, स्थिर बनाउने र सुधार गराउने सीप सिकाइन्छ ।

दुर्घटना, चोटपटक, अचानक बिरामी पर्ने अवस्थाजस्ता स्वास्थ्यजन्य आपत्कालीन परिस्थितिमा बिरामीलाई अस्पताल पु¥याउनुअघि अवस्था थप बिग्रिन नदिनु तालिम सञ्चालनको मुख्य उद्देश्य रहेको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

उक्त तालिममा दुर्घटना स्थलमा आफ्नो र घाइतेको सुरक्षा, घाइतेको अवस्था प्रारम्भिक जाँच, मुटुको धड्कन वा श्वासप्रश्वास बन्द भएको व्यक्तिलाई छाती थिचेर र कृतिम श्वास दिएर पुनर्जीवित गराउने विधि (सिपीआर), रक्तश्राव नियन्त्रण गर्ने तरिका सिकाइन्छ । रासस

प्रकाशित मिति: बिहीबार, वैशाख १०, २०८३  ०९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update