काठमाडौं । जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट हटाउन सरकारसँग माग गरेको छ ।
सोमबार प्रवक्ता विजय शाहद्वारा जारी प्रेस वक्तव्यमा मन्त्री पदमा बहाल रहँदा अनुसन्धान प्रक्रिया प्रभावित हुने र स्वार्थको द्वन्द्व सिर्जना हुने उल्लेख गरिएको छ । वक्तव्यमा आफ्नैविरुद्ध छानबिन भइरहँदा मन्त्री पदमा बसिरहनु आधारभूत नैतिकता र कानुनी सिद्धान्तविपरीत हुने भन्दै निष्पक्ष न्यायका लागि गुरुङको पदत्याग आवश्यक रहेको जिकिर गरिएको छ ।
मुभमेन्टले मन्त्री नियुक्ति र बर्खास्तीलाई ‘कच्चा राजनीतिक खेल’ नबनाउन बालेन शाह नेतृत्वको सरकारलाई आग्रह गरेको छ । क्याबिनेट गठनजस्ता निर्णयहरू गम्भीर राजनीतिक र नैतिक विषय भएकाले नेतृत्वले परिपक्वता, दूरदर्शिता र जवाफदेहिता देखाउनुपर्ने वक्तव्यमा उल्लेख छ ।
‘यो कुनै साधारण सरकार होइन, ७६ जना शहीदहरूको रक्तबलिदानबाट प्राप्त जनादेशको प्रतिनिधित्व हो,’ वक्तव्यमा भनिएको छ, ‘जनताको त्यागमाथि सस्तो राजनीति गर्ने अधिकार कसैलाई छैन ।’ मुभमेन्टले सुशासन, पारदर्शिता र जवाफदेहितामा कुनै सम्झौता नहुने चेतावनी समेत दिएको छ ।
विवादास्पद व्यापारी दीपक भट्टसँग गुरुङको साझेदारी रहेको विषय सार्वजनिक भएपछि गृहमन्त्री गुरुङ विवादमा परेका हुन् ।






