Khabar Out
कञ्चनपुरमा लागुऔषध मुद्दामा ३३४ जना पक्राउ

कञ्चनपुर । गत वर्ष कञ्चनपुर प्रहरीले लागुऔषध मुद्दामा महिला तथा पुरुष गरी ३३४ जनालाई कारबाहीको दायरामा ल्याएको छ। गत वर्षको वैशाखदेखि चैत मसान्तसम्मको अवधिमा ३०५ पुरुष र २९ महिला गरी ३३४ जना अभियुक्त लागुऔषधसम्बन्धी मुद्दामा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्क खत्रीले जानकारी दिए ।

उनका अनुसार सो अवधिमा प्रहरीले ७५३ ग्राम खैरोहिरोइन, ३३ किलो ३६४ ग्राम चरेश, दुई किलो ४२ ग्राम गाजालगायत विभिन्न लागुऔषध बरामद गरिएको छ ।

“गएको वर्ष लागुऔषधमा २०१ मुद्दा दर्ता भएर कारबाही प्रक्रिया अघि बढ्यो”, प्रहरी उपरीक्षक खत्रीले भने, “हामीले कारबाही र सचेतनाका लागि अभियानसँगै सञ्चालन गरेका छौँ ।” उनले पछिल्लो समय लागुऔषध समाजमा भयानक रूपमा फैलिएको भन्दै त्यसको रोकथाम र न्यूनीकरणका लागि समाजका सबै नागरिक जागरुक हुनुपर्ने बेला आएको बताए ।

“टोल विकास समिति तहसम्म स्थानीय चनाखो हुनुपर्ने बेला आइसक्यो”, उहाँले भन्नुभयो, “लागुऔषध सेवक र दुर्व्यसनको विषयमा प्रहरीलाई समयमा सूचना आदालन प्रदान आवश्यक छ ।”

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार २०८२ वैशाखमा यहाँ २२ जना लागुऔषधिसम्बन्धी मुद्दामा पक्राउ परेका थिए । त्यसैगरी जेठ महिनाममा ४०, असारमा २०, साउनमा १६, भदौमा १६, असोजमा ११, कात्तिकमा २९, मंसिरमा २३, पुसमा १८, माघमा ४९, फागुनमा ४१ र चैत महिनामा ४५ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खुला सीमानाकाका कारण भारतबाट लुकिछिपी लागुऔषध आयात हुने गरेको छ । पछिल्लो समय नेपाल-भारत संयुक्त सीमा बैठकमा उक्त विषयमा नेपाली अधिकारीहरूले नियन्त्रणका लागि कुरा उठाउने गरेको प्रहरी प्रमुख खत्रीले जानकारी दिए ।

“भारतीय पक्षसँग हामीले लागुऔषध नियन्त्रणका लागि गम्भीर हुनु भनिरहेका हुन्छौँ”,उनले भने, “खुला सीमानाकाका कारण कञ्चनपुर र कैलालीका साथै पहाडी जिल्लामा पैठारी हुने गरेको सूचना आउँछ । यो विषयमा अभिभावक, समाजका सबै नागरिक, शिक्षकलगायत सबै चिन्तित र संवेदनशील भएर लाग्नु पर्ने बेला भयो । लागुऔषधले युवा पुस्ता प्रभाविन बने मुलुकमा अर्को समस्या निम्तिन सक्छ ।”

उनले कञ्चनपुर कारागारमा ३५ प्रतिशत लागुऔषध मुद्दाका आरोपी कैदीबन्दी रहेका जानकारी दिए । “प्रहरी प्रशासनको प्रयासले मात्रै लागुऔषधको न्यूनीकरण हुन सम्भव छैन”, खत्रीले भने, “यसका लागि सबै हातेमालो गरौँ । समाजमा सचेतना फैलाऔँ ।” रासस

प्रकाशित मिति: शुक्रबार, वैशाख ४, २०८३  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update