Khabar Out
कालीगण्डकी नदीमा बेपत्ता अर्का युवक पनि मृत फेला

पाल्पा । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत मङ्गलबारदेखि बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला परेका छन् । बगनासकाली गाउँपालिका–९ चापपानी झिरभञ्ज्याङका २९ वर्षीय तोयनाथ बस्याल र चापपानी भुसालगाउँका ३९ वर्षीय शरण भुसाल मृतावस्थामा भेटिएका हुन् ।

बस्यालको हिजो बुधबार र भुसालको आज बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए । उनीहरु मङ्गलबार नयाँवर्षका दिन साथीभाइसँग कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।

उनीहरुको स्थानीय बासिन्दा, सुरक्षाकर्मी र बुधबार नेपालगञ्जबाट आएको सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी गरी शव फेला पारेको प्रनाउ चौधरीले बताए ।

बस्याल चन्द्र मावि चापपानीमा प्राविधिक शिक्षातर्फ शिक्षक हुन् भने भुसाल विदेशबाट छुट्टीमा फर्केका थिए । मृतक दुवै एउटै टोलका भएकाले चापपानी, झिरभञ्ज्याङ गाउँ अहिले शोकमा डुबेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: बिहीबार, वैशाख ३, २०८३  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update