झापा । पूर्वी नेपालका आदिवासी राजवंशी समुदायको सबैभन्दा ठूलो र गौरवमय चाड ‘सिरुवा पावनी’ आजदेखि हर्षोल्लासका साथ सुरु भएको छ। हरेक वर्ष वैशाख १, २ र ३ गते मनाइने यो पर्व राजवंशीका साथै ताजपुरिया र गनगाई समुदायको पनि साझा उत्सव हो ।
तीन दिनसम्म चल्ने यस पर्वको पहिलो दिनलाई ‘जल सिरुवा’, दोस्रो दिनलाई ‘कादो सिरुवा’ र अन्तिम दिनलाई ‘रङ सिरुवा’ भन्ने गरिन्छ। गौरीगञ्जका आत्माराम राजवंशीका अनुसार आज पहिलो दिन जल सिरुवामा एक-अर्कालाई पानी छ्यापेर आत्मीयता साटासाट गरिन्छ। भोलि दोस्रो दिन हिलो (कादो) छ्यापेर र तेस्रो दिन अबिर दलेर शुभकामना आदानप्रदान गर्ने प्रचलन छ ।
पर्वको पहिलो दिन महिलाहरूले सात प्रकारका हरियो सागसब्जी मिसाएर विशेष परिकार पकाउँछन्, जसलाई स्थानीय भाषामा ‘सात सागी’ भनिन्छ । पहिलो दिन पकाइएको यो सब्जी दोस्रो दिन ‘पन्ता भात’ (बासी भात) सँग खाने मौलिक परम्परा छ। यसका साथै औषधीय गुण भएको ‘अठिया केरा’ को सेवन पनि यस पर्वको मुख्य विशेषता हो। पेटको समस्या र झाडापखालामा उपयोगी मानिने यो केरा सिरुवा पावनीमा अनिवार्य जस्तै मानिन्छ ।
वर्षभरि कसैलाई पनि रोगव्याधि नलागोस् भन्ने कामनाका साथ मनाइने यस पर्वमा सार्वजनिक स्थानमा ‘घाटोसरी’ बनाएर भजन गाउने विशेष प्रचलन छ। समुदायका मानिसहरू स्थानीय ग्रामथान र नदी किनारमा गएर पूजापाठ गर्ने र मौलिक संस्कृति झल्किने विविध कार्यक्रममा सहभागी हुने गर्छन् ।
आफ्नै मौलिक भाषा, भेषभुषा र गौरवशाली इतिहास भएको राजवंशी समुदायको मुख्य बसोबास झापा, मोरङ र सुनसरीमा रहेको छ। २०७८ को जनगणनाअनुसार नेपालमा राजवंशी समुदायको कूल जनसङ्ख्या १ लाख ३२ हजार ५६४ रहेको छ। यो पर्वले यस क्षेत्रको सामाजिक सद्भाव र सांस्कृतिक विविधतालाई अझ मजबुत बनाएको छ । रासस







