Khabar Out
वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

नुवाकोट । सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार एक जनालाई अदालतमा मुद्दा दायर गरेको छ ।

राष्ट्रिय वनमा आगो लगाएको कसुरमा पक्राउ परेका सूर्यगढी गाउँपालिका–४ अर्चलेका नारायण तामाङलाई मुद्दा दायर गरिएको डिभिजन वन अधिकृत प्रदीपनाथ शर्माले जानकारी दिए ।

उनका अनुसार सोही स्थानको चण्डेश्वरी सामुदायिक वनमा तामाङले आगो लगाइरहेको भिडियोसहित प्राप्त प्रमाणका आधारमा पक्राउपश्चात् गरिएको अनुसन्धानका आधारमा मुद्दा दायर गरिएको हो । तामाङलाई वन ऐन, २०७६ को दफा ४९ (घ) अनुसारको कसुर गरेको दाबी गर्दै सोही ऐनको दफा ५० को उपदफा (४) बमोजिम तीन वर्षसम्म कैद र रु ६० हजार जरिवाना हुनुपर्ने नुवाकोट जिल्ला अदालतमा दायर गरेको मुद्दामा माग दाबी गरिएको छ ।

अहिलेको सुक्खायामको समयमा वन क्षेत्रमा डढेलोको जोखिम उच्च हुने भएकाले सावधानी अपनाउन अपिल गर्दै कोही कसैले पनि वन क्षेत्रमा आगो लगाउने कार्य नगर्न तथा नगराउन वन कार्यालयले अनुरोध गरेको छ । रासस

प्रकाशित मिति: शुक्रबार, चैत २७, २०८२  ०८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update