Khabar Out
धार्मिक पर्यटकीयस्थल मालिका जोड्ने तेस्रो सडक मार्ग खुल्यो

म्याग्दी । म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल मालिका धुरी तीनतर्फबाट सडक सञ्जालमा जोडिएको छ । समुद्री सतहदेखि तीन हजार ४०० मिटर उचाइमा रहेको मालिका मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा अवस्थित छ । मङ्गला गाउँपालिका–२ हिदीदेखि मालिकाको फेदीमा रहेको जुगेदेउराली जोड्ने सडकको मार्ग खुलेपछि यातायातको साधन प्रयोग गरेर मालिका जाने भक्तजन र पर्यटकका लागि तेस्रो विकल्प बनेको हो ।

मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि बिम बाइन्दफाँट हुँदै मालिका जोड्ने सडक विसं २०८० र रघुगङ्गा गाउँपालिकाको ठाडाखानी हुँदै मालिकाको फेदीसम्म विसं २०८१ मा सडक पुगेको थियो ।

मङ्गला गाउँपालिका र हिदीका बासिन्दाहरुको साझेदारीमा हिदीदेखि सुर्ती चढाउने डाँडा, गिद्रे देउराली, धौलेखर्क हुँदै मालिकाको फेदीमा रहेको जोगी देउराली जोड्ने चार किलोमिटर ५०० मिटर दूरीको सडकको मार्ग खुलेको निर्माण समितिका अध्यक्ष थमप्रसाद पुनले बताए ।

“गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु ३० लाख बजेटबाट ठेक्कामार्फत हिदीदेखि सुर्ती चढाउने डाँडासम्म दुई किलोमिटर ५०० मिटर सडकको मार्ग खुलेको थियो”, उनले भने, “हिदीका बासिन्दा र स्वदेश तथा विदेशमा रहेकाहरुबाट चन्दा सहयोग जुटाएर सुर्ती चढाउने डाँडादेखि गिद्रे हुँदै जुगेदेउराली जोडिएको सडकको ग्रेड र घुम्ती मिलाउने काम भइरहेको छ ।”

सडक सुधारको सबै काम सकिएपछि चन्दा सङ्कलन अभियान, आम्दानी र खर्च विवरण सार्वजनिक गरिने पुनले बताउनुभयो । हिदीबाट एक घण्टामै मालिका पुग्न सकिने उनले बताए । जोगी देउरालीसम्म गाडी चल्न थालेपछि बेनीदेखि हिदी हुँदै चार घण्टामा मालिका पुग्न सकिने भएको हो ।

पैदलयात्रा गरेर हिदीदेखि मालिका पुग्न चारदेखि पाँच घण्टा लाग्ने गरेको थियो । यातायातको सुविधा भएमा यात्राअवधी दुई घण्टामा छोटिने र यो सडक बेनीदेखि मालिका जोड्ने सबैभन्दा छोटो दूरीको हुने हिदीबासीको दाबी छ ।

मालिकाबाट धौलागिरि र अन्नपूर्ण रेञ्जका दर्जन बढी हिमालहरुका साथै सूर्योदय, सूर्यास्त, पहाडी भूगोल र वनजङ्गलको अवलोकन गन सकिन्छ । चण्डी, जेष्ठी र कार्तिक पूर्णिमामा विशेष दर्शन र पूजाआजा हुने यस मन्दिरमा मनोकांक्षा पूरा हुने जनविश्वास छ । विसं १९१० देखि पूजाआजा हुन थालेको इतिहास रहेको मालिकामा कालिका, मालिका र जालपादेवीको मूर्ति रहेका छन् । रासस

प्रकाशित मिति: मंगलबार, चैत २४, २०८२  ०८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update