Khabar Out
ध्वनि प्रदूषण गर्ने १९ मोटरसाइकल नियन्त्रणमा

रुपन्देही । रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले ‘अपरेसन साइलेन्ट स्ट्रिट्स’ सञ्चालन गरेको छ । सो अपरेसनअन्तर्गत स्वरुप परिवर्तन गरिएका १९ मोटरसाइकल नियन्त्रणमा लिइएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार आइतबार राति करिब १० बजेदेखि सञ्चालन गरिएको विशेष अभियानमा ठुलो आवाज निकाल्ने, जोखिमपूर्ण तवरले सवारी चलाउने तथा सार्वजनिक शान्ति भङ्ग गर्ने ती मोटरसाइकल नियन्त्रणमा लिइएको हो । प्रहरीका विभिन्न युनिटबाट खटिएको टोलीले रुपन्देहीका विभिन्न स्थानमा जाँच गरी ती सवारी साधन नियन्त्रणमा लिइएको जनाएको छ ।

“सार्वजनिक सडकलाई सुरक्षित, व्यवस्थित र शान्त बनाउन यस्तो अभियानलाई निरन्तरता दिइनेछ”, सूचना अधिकारी चन्दले भने, “नियन्त्रणमा लिइएका सवारी चालकमाथि सवारी तथा यातायात व्यवस्था ऐनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ ।”

प्रकाशित मिति: सोमबार, चैत २३, २०८२  २१:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update