धरान । चार वर्षदेखि इटहरीमा इलेक्ट्रोनिक्स पसल सञ्चालन गर्दै आएकी भावना निरौला अहिले विभिन्न घरायसी विद्युतीय उपकरणहरूको मर्मत कार्यले भ्याइनभ्याइमा छिन् । पहिले उनी मुख्य रूपमा बिक्री र ग्राहक सेवा हेर्थिन् भने श्रीमान् मर्मत र फिल्डको काम गर्थे । तर मर्मत तथा सम्भार तालिम सकेपछि उनको भूमिका परिवर्तन भएको छ ।
नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रम–नेपालमा दिगो ऊर्जामार्फत पुनः प्राप्ति एवं सशक्तिकरण (रिप ग्रिन)ले सञ्चालन गरेको तालिमपछि आफ्नो दैनिकीमा आएको ठूलो परिवर्तनबारे अनुभव सुनाउँछिन् । रिप ग्रिन, युरोपियन युनियन र जर्मन सङ्घीय आर्थिक सहयोग तथा विकास मन्त्रालय (बिएमजेड) को आर्थिक सहयोग र जर्मन विकास सहयोग–जिआइजेडको प्राविधिक सहयोगमा सञ्चालित परियोजना हो ।
सो परियोजनाको सहयोगमा सञ्चालित नौदिने तालिममा आफूले विद्युतीय जडानका आधारभूत कुरा, समस्या पहिचान (ट्रबलसुटिङ) र राइस कुकर, इलेक्ट्रिक केतली, मिक्सर र इन्डक्सन चुलो मर्मत गर्ने सीप सिकेको भावना बताउँछिन् । उनी भन्छिन्, “तालिम सकेको एक महिनामै मैले छ वटा इलेक्ट्रिक जग र चार वटा हिटर मर्मत गरिसकेकी छु । हिटर मर्मत तालिममा नभएको भए पनि मैले सिकेका विद्युतीय सिद्धान्त प्रयोग गरेर समस्या पत्ता लगाएर समाधान गर्न सकेँ । तालिममा पाएको मल्टिमिटर अहिले मेरो सबैभन्दा उपयोगी उपकरण बनेको छ, जसले तार र जडानसम्बन्धी समस्या पहिचान गर्न मद्दत गर्छ ।”
सुरुमा केही ग्राहक महिलाले स्क्रूड्राइभर समातेको देखेर छक्क पर्थे र प्रश्न गर्थे । उनको कामको गुणस्तर देखेपछि ग्राहकहरूले प्रशंसा र हौसला दिन्छन् । जाडो समयमा धेरै ग्राहकले हिटर र केतली मर्मतका लागि ल्याए र हरेक सफल कामसँगै उनको आत्मविश्वास बढ्दै गयो । यी सामानहरू मौसमी हुने भएकाले अब आफू राइस कुकर र इन्डक्सन चुलो जस्ता वर्षभरि प्रयोग हुने सामान मर्मतमा ध्यान दिन चाहेको बताउँछिन् । यस्ता प्राविधिक सीपहरूले महिलाहरूलाई नयाँ अवसर दिने र यसबाट उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बन्न मद्दत गर्ने उनको विश्वास छ ।
रिप ग्रिन कार्यक्रमका साझेदारहरूले स्थानीय स्तरमा सञ्चालन गरेका प्राविधिक तालिमहरूमा विस्तारै महिलाहरूको सहभागिता बढ्दै गएको छ । स्नातक दोस्रो वर्षमा अध्ययनरत इटहरी, खनारकी स्वस्तिका दाहाल इलेक्ट्रोनिक्स पसलमा केही समयदेखि बिक्रेताका रूपमा सहयोग गर्दै आएकी छिन् । केही समयअघि विद्युतीय उपकरणहरूको मर्मतसम्बन्धी तालिम प्राप्त गरेपछि उनले घर र पसल दुवैमा सिकेका सीप प्रयोग गर्न थालेकी छिन् । तालिमपछि इलेक्ट्रिक केतली, राइस कुकर र हिटर मर्मत गर्न सक्षम बनेकी छिन् ।
यी कामहरूले उनलाई केही आम्दानी पनि दिलाएको उनी बताउँछिन् । अहिलेका लागि यो पढाइसँगै राम्रो ‘पार्ट–टाइम’ अवसर बनेको भए पनि भविष्यमा यसलाई नै आफ्नो रोजगारीको माध्यम बनाउने उनको योजना छ । अहिले घरबाटै सेवा दिँदै आएकी उनले आफ्नै पसल स्थापना गरी तालिममा सिकेको सीपको उपयोग गर्ने सोच बनाएकी छिन् ।
तालिममा सहभागी प्रशिक्षार्थीहरूले एक अनौपचारिक समूह नै बनाएर बिग्रिएका सामानहरू जम्मा गरेर एउटै घरमा भेला भई सँगै मर्मत गर्न पनि थालेका छन् । यसले तालिमपछि पनि सीप सुधार गर्न एक–अर्कालाई सहयोग पुगेको दाहाल बताउँछिन् । तालिमबाट प्राप्त सीप र उपकरणहरूको प्रयोग गर्दै महिलाहरू अहिले आफ्नै घर र समुदायमा सँगै काम गर्दै समस्याहरू समाधान गरिरहेका छन् ।
तालिमले भावना र स्वस्तिका जस्ता सहभागीहरूलाई व्यावहारिक प्राविधिक सीप, आत्मविश्वास र नयाँ आम्दानीका अवसरहरू प्रदान गरेको छ । निरन्तर अभ्यासले उनीहरूको क्षमता अझ बढ्ने आत्मविश्वास आएको बताउँदै भावना भन्छिन्, “घरायसी सबै खालका उपकरणहरूको मर्मत गर्न सक्ने क्षमताको विकास गर्न थप तालिमको आवश्यकता महसुस गरेका छौँ ।”







