काभ्रेपलाञ्चोक । वनक्षेत्र अतिक्रमण गरी अनाधिकृत रूपमा खानी तथा क्रसर उद्योग सञ्चालन गर्दै आएको हेन्जन दोर्जे प्राइभेट लिमिटेडलाई रोक लगाएको छ ।
तेमाल गाउँपालिका–१ स्थित अनाधिकृत रूपमा सञ्चालन हुँदै आएको सो उद्योगलाई कानुनी कारवाहीका लागि थप अनुसन्धान भइरहेको डभिजन वन कार्यालय काभे्रपलाञ्चोकले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानमा वर्षैँदेखि खानी तथा क्रसर उद्योग सञ्चालन गर्दै आएको सो उद्योगविरुद्ध ३ दशमलब ४१ हेक्टर अर्थात् ६७ रोपनी वन अतिक्रमण गरी उत्खनन्समेत गरेको जनाउँदै कार्यालयले मुद्दा दर्ताको तयारी गरिएको डिभिजन वन कार्यालयले जनाएको छ
प्रारम्भिक अनुसन्धान एवं छानविनका क्रममा कम्पनी दोषी देखिएपछि अनुसन्धान टोली गठन गरी थप अनुसन्धानलाई तीव्र पारिएको डिभिजन वन कार्यालयका प्रमुख कृष्णबहादुर थापाले बताए । उनका अनुसार टोलीले बन्द गरिएको उद्योगको थप अनुसन्धान सकेर यथेष्ट प्रमाण जुटाएपछि मुद्दा दर्ताको प्रक्रियामा लागिनेछ ।
कार्यालयले मातहतको सव–डिभिजन वन कार्यालय नमोबुद्धका वन अधिकृत हरिचन्द्र तिमल्सिनाको संयोजकत्वमा अनुसन्धान समिति गठन गरी अनुसन्धान थालेको थियो । संयोजक तिमिल्सनाले जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र जिल्ला प्रहरी कार्यालयको समन्वयमा उक्त उद्योग बन्द गराइएको बताए । उनले हेन्जन दोर्जे प्राइभेट लिमिटेडले वर्षाैँदेखि वनक्षेत्र अतिक्रमण गरी खानी तथा क्रसर उद्योग सञ्चालन गरेको पुष्टि गरिसकेकाले केही दिनमै सो उद्योगविरुद्ध समितिले मुद्दा दर्ताको तयारीमा लागिनेछ । स्थानीयवासीको उजुरीपश्चात अनुगमन गरिएको र थप अनुमगन–प्रतिवेदनका आधारमा त्यस उद्योगका सञ्चालकविरुद्ध वन अतिक्रमणसम्बन्धी अभियोग दर्ता गरिने बताइएको छ ।
अनुसन्धान टोलीलाई सम्बन्धित क्षेत्रको स्थलगत अध्ययन, प्रमाण सङ्कलन तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउने जिम्मेवारी दिएको थियो । यसैगरी कार्यालयले कम्पनीले उक्त क्षेत्रबाट हालसम्म कति सामग्री उत्खनन् भयो भन्नेबारेसमेत प्राविधिकरूपमा अनुसन्धान गरिरहेको जनाएको छ ।
यसअघि स्थानीयवासीले उक्त कम्पनीले वनक्षेत्र अतिक्रमण गरी क्रसर तथा खानी सञ्चालन गर्दै आएको जनाउँदै जिल्लास्थित डिभिजन वन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा पटकपटक उजुरी गरेका थिए । स्थानीय प्रशासनले स्थानीय नागरिकको उजुरीका आधारमा उद्योगको अनुगमन गरी अनुसन्धानपछि कारबाही प्रक्रिया सुरु गरिएको जनाएको छ ।
कार्यालयका अनुसार उक्त खानी–क्रसर तेमाल–२ का शंकरमान तामाङ र शान्ति लामा तथा पाँचखाल नगरपालिका–११ का राम पन्तको नाममा दर्ता भई सञ्चालन हुँदै आएको छ । रासस







