Khabar Out
कोशी–बङ्गाल सांस्कृतिक तथा पर्यटन उत्सव हुँदै

झापा । कोशी प्रदेश र भारतको पश्चिम बङ्गाल प्रान्तको सांस्कृतिक सम्पदा र पर्यटकीय क्षेत्रहरूको प्रवर्द्धन गर्न यही चैत २४ र २५ गते विर्तामोडमा ‘कोशी–बङ्गाल सांस्कृतिक तथा पर्यटन’ उत्सव हुने भएको छ ।

विर्तामोड सिटी सेन्टरमा आयोजना हुने उत्सवमा नेपालका १८ र भारतका १२ वटा प्रदर्शनी कक्ष राखिने जिल्ला पर्यटन कार्यालयले जनाएको छ । ती कक्षबाट स्थानीय खानाका परिकार, हस्तकलाका सामग्री, पर्यटन ‘प्याकेज’ तथा सेवाबारे विस्तृत रूपमा जानकारी दिइने छ । आगन्तुकले परिकार चाख्न पनि पाउने छन् ।

उत्सव सञ्चालन गर्न पर्यटन व्यवसायी इन्दिरा श्रेष्ठको संयोजकत्वमा कोशी–बङ्गाल सांस्कृतिक तथा पर्यटन उत्सव आयोजक समिति गठन भएको छ ।

उत्सवका माध्यमबाट नेपाल र भारतबीचको सांस्कृतिक निकटतालाई अझ सुदृढ तुल्याउन र सुस्ताएको पर्यटन उद्योगलाई गतिशील बनाउन सघाउ पुग्ने विश्वास संयोजक श्रेष्ठको छ ।

उत्सवमा विविध सांस्कृतिक कार्यक्रम, फोटो तथा चित्रकला प्रदर्शनीका साथै र दुई देशबीच सांस्कृतिक एवं धार्मिक पर्यटन प्रवर्द्धन गर्न ‘नेपाल–बङ्गाल पर्यटन सर्किट’बारे विचारविमर्श हुने भएको छ । रासस

प्रकाशित मिति: बिहीबार, चैत १९, २०८२  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update