नेपालको स्वास्थ्य क्षेत्रका अग्रज व्यक्तित्व प्रा.डा. लोक बिक्रम थापा स्वास्थ्य सेवा र शल्यचिकित्साको क्षेत्रमा परिचित नाम हुन् । वि.सं. १९९२ सालमा सिन्धुलीमा जन्मनुभएका डा. थापा नेपालका पहिलो कार्डियोथोरासिक सर्जनका रूपमा चिनिनुहुन्छ । वीर अस्पतालका पूर्व अध्यक्ष, शहिद गंगालाल मुटु केन्द्रका पूर्व अध्यक्ष, सोसाइटी अफ सर्जिकल अफ नेपालका अध्यक्ष, रोटरी क्लब अफ काठमाडौंका अध्यक्ष लगायत विभिन्न जिम्मेवारी सम्हालिसक्नु भएका प्रा.डा. थापाले नेपाल सरकार तथा विभिन्न मेडिकल कलेज र काठमाडौं विश्वविद्यालयमा पनि काम गरिसक्नुभइसकेको छ। हाल कमलपोखरीस्थित हिमाल अस्पताल अध्यक्षको रहनु भएका प्रा.डा. लोक बिक्रम थापा देशको स्वास्थ्य क्षेत्रप्रति गहिरो चिन्ता व्यक्त गर्नुहुन्छ। प्रस्तुत छ उहाँसँग गरिएको कुराकानीको सम्पादित अंशः
यहाँको दिनचर्या कसरी बितिरहेको छ ?
उमेर र स्वास्थ्य अवस्थाले पहिलेझैं सक्रिय रूपमा काम गर्न नदिए पनि मन भने अझै पनि सेवा गर्न चाहन्छ । अहिले ध्यान, योग र बेलाबखत हुने कार्यक्रमहरूमा सहभागी हुँदै समय बिताइरहेको छु ।
वर्तमान स्वास्थ्य क्षेत्रको अवस्था कस्तो छ ?
मानिसको सबैभन्दा ठूलो धन स्वास्थ्य हो। तर दुर्भाग्यवश हामी नेपालीले यसको महत्व पूर्ण रूपमा बुझ्न सकेका छैनौं । अझै पनि समयमा उपचार नपाएर मानिसहरूले अकालमै ज्यान गुमाइरहेका छन्। यो युगमा पनि स्वास्थ्य सेवा नपाएर मर्नुपर्ने अवस्थाले पनि स्वास्थ्य क्षेत्रको अवस्थाको कस्तो छ भन्ने स्पष्ट गर्छ ।
यो अवस्था हुनुको मुख्य कारण के देख्नुहुन्छ ?
अहिले स्वास्थ्य क्षेत्र भद्रगोल अवस्थामा छ । स्पष्ट र दीर्घकालीन स्वास्थ्य नीति छैन । सरकार स्वास्थ्य क्षेत्रप्रति संवेदनशील नहुँदा समस्या दिनानुदिन बढिरहेको छ। निजी र सरकारी दुवै क्षेत्रप्रति राज्यको दृष्टिकोण अस्पष्ट छ ।
कस्तो दृष्टिकोण आवश्यक छ ?
स्वास्थ्य क्षेत्रमा राजनीतिक हस्तक्षेप अत्यधिक बढेको छ । दलगत स्वार्थका आधारमा हुने राजनीतिक नियुक्तिले दक्षता र कार्यक्षमताभन्दा निष्ठालाई प्राथमिकता दिएको छ । परिणामस्वरूप स्वास्थ्यकर्मीहरू सेवाभन्दा राजनीतिक दबाबमा काम गर्न बाध्य भएका छन् । सरकारी अस्पतालको कमजोर व्यवस्थापन र कर्मचारीको लापरवाहीका कारण बिरामीहरू गुणस्तरीय सेवाबाट वञ्चित भइरहेका छन् । निजी क्षेत्रले सेवा दिन खोज्दा पनि राज्यबाट समान व्यवहार पाउन सकेको छैन ।
स्वास्थ्य क्षेत्रको विकास नहुनुमा राजनीतिक हस्तक्षेप नै मुख्य कारण हो ?
यसमा दुईमत छैन । पछिल्लो समय सरकारी अस्पतालहरूमा गुणस्तरीय सेवा खस्कनु र विकास अवरुद्ध हुनुको प्रमुख कारण राजनीतिक हस्तक्षेप नै हो । भक्तपुर क्यान्सर अस्पताल, वीर अस्पताल, पाटन अस्पताल, शिक्षण अस्पताललगायत संस्थाहरूमा राजनीतिक नियुक्तिका कारण स्वास्थ्य सेवा गुणस्तरिय हुन सकिरहेको छैन ।
निजी अस्पतालहरू पनि शहरी क्षेत्रमा मात्रै सीमित छन् भन्ने आरोप छ नि ?
पहिले त्यस्तो थियो, तर अहिले ग्रामीण क्षेत्रमा पनि निजी अस्पताल खुल्ने क्रम बढेको छ । तर लगानीको सुनिश्चितता नहुनु, राज्यबाट कुनै विशेष सुविधा नपाउनु र ग्रामीण क्षेत्रमा बिरामीले शुल्क तिर्न नसक्ने अवस्था हुनुका कारण निजी अस्पतालहरू शहरमुखी भएका हुन् । यदि लगानी सुरक्षित हुने वातावरण बनाइयो भने ग्रामीण क्षेत्रमा पनि अस्पताल सञ्चालन गर्न डराउनु पर्दैन ।
स्वास्थ्य क्षेत्र सेवामुखीभन्दा व्यापारमुखी हुँदै गएको छ भन्ने टिप्पणीबारे के भन्नुहुन्छ ?
सबै अस्पताललाई व्यापारमुखी भन्न मिल्दैन । धेरैजसो अस्पताल स्वास्थ्यकर्मीहरूले सञ्चालन गरेका छन्, जहाँ सेवा भाव नै प्राथमिकतामा छ । तर केही अस्पतालमा गैर-स्वास्थ्य क्षेत्रका व्यापारीहरूको लगानी रहेको छ, त्यहाँ भने सेवाभन्दा नाफा प्राथमिकतामा पर्ने गरेको देखिन्छ ।
अन्त्यमा, के सुझाव दिन चाहनुहुन्छ ?
सबैभन्दा पहिले स्वास्थ्य क्षेत्रको ज्ञान र अनुभव भएको व्यक्ति नै स्वास्थ्यमन्त्री बन्नुपर्छ । अहिलेसम्म स्वास्थ्य क्षेत्र राम्रोसँग बुझेको व्यक्ति नेतृत्वमा आएको देखिँदैन । स्थायी र स्पष्ट नीति बिना स्वास्थ्य क्षेत्रको विकास सम्भव छैन । राजनीतिक हस्तक्षेप हटाई दक्ष र प्रतिबद्ध नेतृत्वमार्फत स्वास्थ्य प्रणाली सुधार गर्न जरुरी छ ।





