Khabar Out
सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना

लुम्बिनी । बुटवल उद्योग वाणिज्य सङ्घले बुटवलका तीन सामुदायिक विद्यालयमा छात्रवृत्ति अयक्षकोष स्थापना गरेको छ । सङ्घको ७३औँ स्थापना दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा छात्रवृत्ति अयक्षकोष रकम हस्तान्तरण गरिएको हो ।

सङ्घले बुटवल उपमहानगरपालिका–४ स्थित कान्ति माध्यमिक विद्यालयमा स्थापित ‘बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देही, कान्ति माध्यमिक विद्यालय अक्षयकोष’ मा रु ७१ हजार थप गरेर रु एक लाख एक हजार पुर्‍याएको छ भने बुटवल–६ स्थित तिलोत्तमा माध्यमिक विद्यालयमा रु ५० हजार र वडा नं ४ मा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा रु एक लाख एक हजारको छात्रवृत्ति अक्षयकोष स्थापना गरेको हो ।

कार्यक्रममा सङ्घका अध्यक्ष हरिप्रसाद अर्याल र नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठले ती विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकलाई उल्लेखित रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो । त्यस अवसरमा महासङ्घका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सरकारले बजेटमा स्रोतको सुनिश्चित नगरीकन काम गर्दा अगाडि सारिएका आयोजनाले गति लिन नसकेको बताए।

रुपन्देही औद्योगिक विकासका लागि राम्रो सम्भावना रहेको क्षेत्र भए पनि कानुनी उल्झन, राज्य सञ्चालकमा देखिएको गैरजिम्मेवारीपना, विकासको दीर्घकालीन रणनीति नहुँदा अगाडि सारिएका आयोजना समेत अन्योलमा रहेको वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताए। बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले सङ्घले यस क्षेत्रको आर्थिक, सामाजिक तथा औद्योगिक विकासमा गरेको नेतृत्वदायी भूमिकाको प्रशंसा गरे । रासस

प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२  २१:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update