Khabar Out
पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोह : ६ हजार ६२२ विद्यार्थी दीक्षित

पोखरा । पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहमा शुक्रबार विभिन्न सङ्कायका ६ हजार ६२२ जना विद्यार्थी दीक्षित भएका छन् । पोखरा–३० खुदी ढुङ्गेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा कुलपति एवं प्रधानमन्त्री सुशीला कार्कीले विद्यार्थीहरूलाई दीक्षित गरेकी हुन् ।

दीक्षान्त समारोहमा व्यवस्थापन सङ्कायका ३ हजार ६२५, विज्ञान तथा प्रविधिका २ हजार ५०६, स्वास्थ्य विज्ञानका ३६५ र मानविकी तथा सामाजिक शास्त्र सङ्कायका १२६ जना विद्यार्थी सहभागी थिए । समारोहमा ६ दशक लामो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव सँगालेकी चाँदनी जोशी प्रमुख अतिथिका रूपमा उपस्थित थिइन् । दीक्षित हुनुअघि प्रधानमन्त्री कार्कीको अध्यक्षतामा बसेको विश्वविद्यालय सभाको विशेष बैठकले योग्य विद्यार्थीहरूको 'ग्रेस लिस्ट' पारित गरेको थियो ।

समारोहका क्रममा शैक्षिक उत्कृष्टता हासिल गर्ने ६६४ जना विद्यार्थीलाई 'डीन लिस्ट' उपाधि र अन्य उत्कृष्ट विद्यार्थीलाई विभिन्न पदकबाट सम्मान समेत गरिएको छ । वि.सं. २०५४ मा स्थापना भएको यस विश्वविद्यालयमा हाल ३७ हजार ५९३ विद्यार्थी अध्ययनरत छन् । विश्वविद्यालयले देशभरका ६६ वटा महाविद्यालयमार्फत ७४ वटा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२  २२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update