Khabar Out
स्थानीय तहले सम्हाले मतदाता शिक्षाको कमाण्ड

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी देशभरका ७५३ वटै स्थानीय तहले मतदाता शिक्षा र समन्वयका कामलाई तीव्रता दिएका छन्। निर्वाचन आयोगले फागुन ३ देखि १७ गतेसम्मका लागि सञ्चालन गरेको विशेष मतदाता शिक्षा कार्यक्रमअन्तर्गत देशभरका ६ हजार ७४३ वडामा स्वयंसेवकहरू परिचालन गरिएको छ।

यी स्वयंसेवकहरूले नमुना मतपत्रसहित मतदाताको घरदैलोमा पुगेर मतदान गर्ने सही तरिका र निर्वाचनको महत्त्वबारे जानकारी दिइरहेका छन् । मोरङको पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोका अनुसार विगतको 'जेनजी आन्दोलन' का क्रममा कतिपय सरकारी भवन र कम्प्युटरहरू जलाइएका कारण भौतिक सहयोगमा केही चुनौती देखिए पनि निर्वाचन सफल पार्न नगरपालिकाले पूर्ण समन्वय गरिरहेको छ ।

मुलुकको राजनीतिक स्थायित्व र प्रणालीको रक्षाका लागि पनि यो निर्वाचन महत्त्वपूर्ण रहेको भन्दै उनले क्षतिग्रस्त संरचनाहरूलाई व्यवस्थित गर्दै निर्वाचनका लागि आवश्यक पूर्वाधार मिलाइरहेको जानकारी दिए।

महोत्तरीको मटिहानी नगरपालिकामा भने मतदाता शिक्षासँगै शान्तिपूर्ण निर्वाचनको वातावरण बनाउन सचेतनामूलक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। नगर प्रमुख हरिप्रसाद मण्डलले निर्वाचनलाई लोकतन्त्रको आधारस्तम्भका रूपमा लिँदै तडकभडकरहित र मित्रवत् प्रतिस्पर्धाका लागि दलहरूलाई सहजीकरण गरिरहेको बताए। यता नुवाकोटको शिवपुरी गाउँपालिकाले भने मतदाता शिक्षाका अतिरिक्त सुरक्षा निकायका लागि अस्थायी बसोबासको व्यवस्थापनमा समेत समन्वय गरिरहेको छ।

निर्वाचन आचारसंहिता पालना गराउन पनि स्थानीय तहहरू सक्रिय देखिएका छन्। आचारसंहिता अनुसार स्थानीय तहको स्रोतसाधन कुनै पनि दल वा उम्मेदवारको पक्षमा प्रयोग गर्न पाइँदैन। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रभावकारी मतदाता शिक्षाले बदर मतको संख्या घटाउन मद्दत गर्ने भन्दै यस कार्यमा सबै पक्षको सहयोग आवश्यक रहेको बताए। संघ, प्रदेश र स्थानीय सरकारको त्रिकोणात्मक समन्वयले निर्वाचनको माहोललाई थप उल्लासमय बनाएको छ । रासस

प्रकाशित मिति: बिहीबार, फागुन ७, २०८२  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update