Khabar Out
ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सन् २०२६ को ‘बेस्ट बैंक नेपाल’ अवार्ड प्राप्त गरेको छ। प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ ले प्रदान गर्ने यो अवार्ड बैंकले लगातार तेस्रो वर्ष प्राप्त गरेको हो। बैंकले सन् २०२४ र २०२५ मा पनि यही अवार्ड पाएको थियो।

थाइल्यान्डको राजधानी बैंककमा आयोजित विशेष समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका नायब प्रमुख कार्यकारी अधिकृतद्वय सुमन पोखरेल र दीपचन्द्र रेग्मीलाई अवार्ड हस्तान्तरण गरेका थिए ।

ग्लोबल फाइनान्सका अनुसार वित्तीय स्रोत परिचालन क्षमता, संस्थागत विश्वसनीयता, भौगोलिक तथा डिजिटल पहुँच विस्तार, रणनीतिक व्यावसायिक साझेदारी, ग्राहकमैत्री नवीनता, अत्याधुनिक प्रविधि तथा कृत्रिम बुद्धिमत्ता ९एआई० को प्रयोग, दिगो कर्जा प्रवाह र सबल जोखिम व्यवस्थापनलाई मूल्याङ्कनका मुख्य आधार बनाएर बैंकलाई पुरस्कृत गरिएको हो ।

समारोहमा एसिया–प्रशान्त क्षेत्रसहित विश्वभरका प्रमुख वित्तीय संस्थाहरूलाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो। सम्मानित संस्थाहरूमा हङकङको बैंक अफ चाइना, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको आईसीबीसी, मलेसियाको यूओबी मलेसिया, बंगलादेशको सिटी बैंक र जापानको एमयूएफजी बैंकलगायत थिए ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको यो प्रतिष्ठित अवार्ड प्राप्त गर्ने पहिलो नेपाली बैंक भएको जनाएको छ । बैंकले यसअघि ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’, युरोमनी अवार्ड फर एक्सिलेन्स २०२२, २०२४ र २०२५, ‘बेस्ट बैंक ईएसजी नेपाल २०२४’ तथा ‘बेस्ट इम्प्लोयर’ लगायतका सम्मान प्राप्त गरिसकेको छ ।

बैंकले अवार्ड प्राप्त गर्न सहयोग गर्ने नेपाल सरकार, नेपाल राष्ट्र बैंकलगायत नियामक निकाय, सेयरधनी, कर्मचारी र ग्राहकप्रति आभार व्यक्त गरेको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका सबै ७७ जिल्लामा सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंक भएको जनाएको छ। बैंकका अनुसार हाल यसका ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र विदेशमा तीन प्रतिनिधि कार्यालय छन् । यी सञ्जालमार्फत बैंकले एक हजारभन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउँदै आएको छ। यसबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान पुगेको बैंकले जनाएको छ।

प्रकाशित मिति: सोमबार, कात्तिक ९, २०८३  २०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update