काठमाडाैँ । बेलायतले युक्रेनको ऊर्जा र ताप प्रणालीमाथि भइरहेका रुसी आक्रमण रोक्न सहयोग पुर्याउने उद्देश्यले करोडौँ डलर बराबरको हवाई रक्षा प्याकेज घोषणा गरेको छ । बिहीबार गरिएको उक्त प्रतिबद्धताले युद्धग्रस्त युक्रेनको नागरिक पूर्वाधार जोगाउन थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
बेलायती रक्षा मन्त्रालयका अनुसार करिब २० करोड डलर अमेरिकी हतियार खरिदका लागि खर्च गरिनेछ । यो व्यवस्था अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा समर्थित नाटो योजनाअन्तर्गत हुनेछ । यससँगै लन्डनले ५० करोड डलरभन्दा बढी मूल्यका एक हजार ब्रिटिस निर्मित हल्का मिसाइलहरू किएभ पठाउने निर्णय गरेको जनाएको छ ।
बेलायती रक्षामन्त्री जोन हेलीले युक्रेनका सहयोगी राष्ट्रहरू ‘पहिलेभन्दा बढी प्रतिबद्ध’ रहेको बताएका छन् । उनले रुसद्वारा सुरु गरिएको युद्ध पाँचौँ वर्षतर्फ अग्रसर भइरहेका बेला समर्थन झनै सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए।
यो घोषणा नाटोका रक्षामन्त्रीहरूको ब्रसेल्स बैठकपछि आएको हो, जहाँ युक्रेनलाई कसरी थप सैन्य सहयोग गर्ने भन्ने विषयमा विस्तृत छलफल भएको थियो ।
रुसले युक्रेनको ऊर्जा संरचनामाथि तीव्र बमबारी गर्दै आएपछि चिसो जाडोकाबिच विभिन्न क्षेत्रमा ताप र बिजुली आपूर्ति अवरुद्ध भएको छ । जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले यस अवस्थालाई ‘युक्रेनको नागरिक जनसङ्ख्यामाथिको आतङ्क’ का रूपमा चित्रण गर्नुभएको छ । उहाँले आत्मरक्षाका लागि युक्रेनलाई थप समर्थन अनिवार्य भएको जोड दिए। रासस





