भोजपुर । स्थानीय कृषि उत्पादनको प्रवर्द्धन र बजारीकरणमार्फत किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले जिल्लाको टेम्केमैयुङ गाउँपालिका–७, कोटमा दुई दिने कृषि प्रदर्शनी आयोजना गरिएको छ ।
यहाँका कृषिउपजलाई एउटै स्थानमा प्रदर्शनीमार्फत सार्वजनिक गर्दै व्यावसायिक कृषि कर्मतर्फ आकर्षित गर्न कार्यक्रम आयोजना गरिएको हो ।
प्रदर्शनीमा वडाभित्र उत्पादन हुने कृषिउपजको जानकारी दिने, किसान र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने तथा स्थानीय उत्पादनको बजार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
वडाध्यक्ष बालबहादुर खड्काका अनुसार वडामा उत्पादन हुने कृषिउपजको प्रवद्र्धन र बजारीकरण गर्दै किसानलाई हौसला प्रदान गर्न कार्यक्रम आयोजना गरिएको हो ।
“स्थानीय उत्पादनलाई चिनाउँदै किसानको मेहनतको मूल्य सुनिश्चित गर्न कृषि प्रदर्शनी उपयोगी बनेको छ”, उनले भने । उनका अनुसार प्रदर्शनीमा सहभागी किसानलाई सम्मानसमेत गरिएको छ ।
प्रदर्शनीमा स्थानीयस्तरमा उत्पादन हुने सुन्तला, अदुवा, मुला, केरा, बेसार, लसुन, कोदो, मकै, धानलगायतका विभिन्न कृषिउपज राखिएका छन् ।
मेलामा सहभागी किसानले आफ्ना उत्पादनबारे जानकारी दिँदै प्रत्यक्ष बिक्रीसमेत गरेका छन् । कृषि प्रदर्शनीले किसानलाई प्रोत्साहन गर्नुका साथै कृषि कर्ममा निरन्तर लाग्न हौसला प्रदान गर्ने टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए।
उनका अनुसार गाउँपालिकाले किसान लक्षित तालिम, अनुदान तथा प्रविधि हस्तान्तरणजस्ता कार्यक्रम सञ्चालन गर्दै कृषकलाई आत्मनिर्भर बनाउने दिशामा काम गरिरहेको छ ।
स्थानीयस्तरमा उत्पादन भएका कृषिउपजलाई आमनागरिकसम्म चिनाउन कृषि प्रदर्शनीले महत्वपूर्ण भूमिका खेलेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् । यस्ता कार्यक्रमले व्यावसायिक रूपमा कृषि कर्ममा संलग्न किसानलाई थप प्रोत्साहन मिल्नुका साथै स्थानीय उत्पादनप्रति उपभोक्ताको आकर्षण बढाउने उनको विश्वास छ ।
कार्यक्रमले स्थानीय उत्पादनको खपत बढाउन, किसानको आम्दानी वृद्धि गर्न तथा दिगो कृषि विकासमा टेवा पुर्याउने उपाध्यक्ष राईले बताइन् । रासस



